रियल मेड्रिडका लागि डी स्टेफानो भन्दा ठूला लिजेण्ड हुन् रोनाल्डो : मोरिन्टेस

एजेन्सी । स्पेनका पूर्व फरवार्ड फर्नान्डो मोरिन्टेसले पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई क्लब लिजेण्ड अल्फ्रेडो डी स्टेफानोभन्दा ठूला लिजेण्ड बताएका छन् । रोनाल्डो गत साता मात्र १०५ मिलियन युरोमा रियल मेड्रिड छाड्दै युभेन्ट्समा आवद्ध भईसकेका छन् ।

सन् १९५३–६३ सम्म स्पेनीस जायन्ट रियलबाट खेलेको डी स्टेफानोले क्लबका लागि २८२ खेलमा २१६ गोल गरेका थिए । उनको असाधारण प्रदर्शनले रियलका समर्थकहरु उनलाई क्लबको आइकनका रुपमा मान्न बाध्य भएका थिए । यद्यपि मोरिन्टेसका अनुसार रियलका लागि २९२ खेलमा ३११ गोल गरेका रोनाल्डोले स्टेफानो भन्दा पनि ठूलो परिचय बनाएर स्पेनको राजधानी छोडेको बताएका छन् ।


चर्चित फुटबल साईट गोलसँग कुराकानीका क्रममा मोरिन्टेसले भने, “मलाई लाग्छ पछिल्ला बर्षहरुमा रोनाल्डोले जे कुराहरु पनि हासिल गरे त्यो रियल मेड्रिड जस्तो क्लबमा मात्र सम्भव छ । मलाई लाग्छ उनले सोंचे होलान् यो समय एउटा नयाँ च्यालेन्जको हो । खासमा यस्ता कुराहरुमा हामीले केवल अनुमान लगाउन सक्छौं ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग रोनाल्डोको कस्तो सम्बन्ध छ र उनीहरु एकान्तमा के कुरा गर्छन्, यी सब कारणहरुले गर्दा नै रोनाल्डोलाई नयाँ चुनौति र नयाँ टिमको खाँचो परेको कुरा सोच्न बाध्य बनाएको थियो ।

मैले डी स्टेफानोलाई देखेन । मानिसहरु उनलाई महान लिजेण्ड बताउँछन् तर मेरो लागि क्रिष्टियानो रोनाल्डो नै रियल मेड्रिडको महान लिजेण्ड रहनेछन् । आधुनिक फुटबलमा उनले जे पनि गरे त्यसलाई हासिल गर्नु निकै कठिन हुनेछ । मलाई माफ गर्नुहोस, उनी जस्ता खेलाडीलाई रियल मेड्रिड छोड्नुपर्यो, त्यो पनि पैसाको लागि ।

हरेक क्लबले फुटबललाई बुझ्ने आफ्नै तरीका छ । उनी एउटा ठूलो क्लबमा गएका छन् । उनी एउटा यस्तो देशमा गएका छन्, जो स्पेनभन्दा निकै फरक छ । २० बर्ष अघि इटाली एउटा बेञ्चमार्क हुने गथ्र्यो । सिरि ए विश्वकै महान लिग थियो । तर अहिले उसको यो स्तरमा गिरावट आएको छ । र उसले फेरि त्यहि स्तरमा पुग्न प्रयास गरिरहेको छ ।

मेरो लागि अब ला लिगा प्वाइन्ट अफ रेफरेन्स बनेको छ । मलाई लाग्छ रोनाल्डोले कुनै पनि कुरा प्रमाणित गर्नु आवश्यक छैन । उनले सबै प्रमाणित गरिसकेका छन् । यो साँचो. हो कि यदि तपाईं युभेन्ट्स जानुहुन्छ र तपाईलाई उसले राम्रो पैसा दिन्छ भने तपाईलाई पनि राम्रो गर्न मन लाग्छ । यसका साथै तपाईं एउटा रेफरेन्स बन्न, उपाधिका लागि भिड्न र च्याम्पियन्स लिग जित्न चाहनुहुन्छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...