इटालीका पूर्व फरवार्डको नजरमा मेसी र रोनाल्डो टेनिसका दुई ठूला स्टार जस्तो

एजेन्सी । इटालीका पूर्व चर्चित फरवार्ड एन्टोनियो कसानोले बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिष्टियानो रोनाल्डोलाई टेनिसका दुई ठूला स्टार रोजर फेडरर र राफेल नाडालजस्तो बताएका छन् ।

उनले मेसीलाई फेडररजस्तो बताएका छन् भने रोनाल्डोलाई नाडालजस्तो बताएका छन् । गत साता युभेन्ट्समा अनुबन्ध हुने पक्का भएपछि अब पोर्चुगिज सुपरस्टार रोनाल्डोलाई ला लिगमा भने देख्न पाईने छैन ।

फुटबल इटालियासँग कुराकानीका क्रममा कसानोले भने, “म मेसीलाई रोनाल्डोको विरोधीको रुपमा मन पराउँदिन बरु उनी मेरो नजरमा सर्वकालिन बेस्ट खेलाडी हुन् । यदि मलाई यो कुरा प्रमाणित गर्न पर्यो भने वा कसैलाई मनाउन पर्यो भने म तपाईंलाई कोही कसैलाई खोज्न भन्छु, जसले मेसीजस्तै बललाई नियन्त्रण गर्न सक्छ र गोल गर्न सक्छ ।


म स्पष्ट रुपमा भन्छु, रोनाल्डोमा केही कमी छैन, तर यो मुख्य बिषय होईन । म टेनिस पनि रुचाउँछु । रोनाल्डो नाडाल जस्तो छन् जो प्रतिभावान हुनुका साथै एउटा शानदार खेलाडी समेत हुन् । साथै उनी कडा मेहनत गर्छन् र इच्छुक पनि छन् ।

मेसी फेडरर जस्ता छन् । उनी एक शुद्ध कलाकृति हुन् । यी दुई व्यक्ति फरक हुन्, तपाईं कुनै एकलाई रोज्न सक्नुहुन्छ । म मेसीलाई रोज्छु । उनी मैदानमा केवल उभिएर पनि खेलमा निकै प्रभाव पार्न सक्छन् । उनलाई फिजिकल फिटनेसको आवश्यकता पर्दैन ।”

स्मरणीय छ, आगामी सिजनमा अब सिरि ए मा जम्ने तयारीमा रहेका रोनाल्डो र मेसीको भिडन्त ससम्भवत च्याम्पियन्स लिग मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...