रोनाल्डोले अमेरिका भ्रमण नगर्ने युभेन्ट्सको स्पष्टोक्ति

एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्सले आफ्ना नयाँ पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो क्लबसँगै अमेरिका भ्रमणमा नजाने पुष्टी गरेको छ । साथै रोनाल्डो यहि आउँदो ३० जुलाईदेखि युभेन्ट्सको टोलीमा सामेल हुने बताइएको छ ।

यो निर्णय क्लबका म्यानेजर म्याक्स अलेग्रीले क्लबका अन्य सदस्यहरुसँग सल्लाह गरेर लिएका हुन् । यो निर्णयसँगै रोनाल्डोले इन्टरनेशनल च्याम्पियन्स कपमा युभेन्ट्सका लागि खेल्ने छैनन् । यो प्रतियोगितामा रोनाल्डोको पूर्व क्लब रियल मेड्रिडसँग पनि युभेन्ट्सले भिड्ने कार्यक्रम रहेको छ । प्रतियोगिता अन्तरगत रियल र युभेन्ट्स अगस्त ५ तारीखमा भिड्दै छन् । च्याम्पियन्स कप खेलेर युभेन्ट्स ६ अगस्तका दिन अमेरिकाबाट फर्कने कार्यक्रम रहेको छ ।


युभेन्ट्सले च्याम्पियन्स कपमा चार म्याच खेल्ने कार्यक्रम रहेको छ । युभेन्ट्सले आफ्नो पहिलो खेल २६ जुलाईका दिन बायर्न म्युनिखसँग खेल्नेछ । त्यस्तै २८ जुलाईका दिन युभेन्ट्सले पोर्चुगिज क्लब बेनफिकासँग खेल्नेछ भने २ अगस्तका दिन मेजर लिग सकर (एमएलएस) अलस्टारसँग खेल्नेछ । युभेन्ट्सले आफ्नो अन्तिम खेल युरोपियन च्याम्पियन रियल मेड्रिडसँग ५ अगस्तका दिन खेल्नेछ ।

सो अन्तिम खेल अमेरिकाको प्रतिष्ठित शहर वाशिंगटनमा हुनेछ । स्मरणीय छ कि रोनाल्डोले अमेरिका भ्रमण नगर्ने भएपछि अब युभेन्ट्सका समर्थकहरुले रोनाल्डोले आफ्नो पूर्व क्लब रियलविरुद्ध खेलेको हेर्न च्याम्पियन्स लिगको सम्भावित भिडन्त नै कुर्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...