आर्सनलमा २२ बर्ष बिताउनु मेरो करियरकै सबैभन्दा ठूलो गल्ती : वेंगर

एजेन्सी । आर्सनलका पूर्व म्यानेजर आर्सेन वेंगरले मिडियासँग कुराकानीका क्रममा आर्सनलमा २२ बर्ष बिताउनु आफ्नो करियरकै सबैभन्दा ठूलो गल्ती रहेको बताएका छन् ।

फ्रेन्च रेडिया आरटिएलसँग एक अन्तरवार्ताका क्रममा वेंगरले आफू आर्सनल मै रहीरहनका लागि निकै राम्रो प्रस्तावहरु पनि अस्वीकार गरेको बताएका छन् । अहिले उनका लागि सो निर्णय आफूले गरेको ठूलो गल्ती लाग्न थालेको छ । साथै उनले त्यतिबेला नै नयाँ चुनौतिलाई स्वीकार गर्दै आर्सनल छाड्नुपर्ने कुरा समेत जिकिर गरेका छन् ।

स्मरणीय छ कि सन् १९९६ मा आर्सनलको म्यानेजर बनेका वेंगरले निकै विवादहरुका बीच यसै बर्षको मई महिनामा आफ्नो पदबाट राजिनामा दिएका थिए ।


रेडियो च्यानलसँग कुराकानीका क्रममा वेंगरले भनेका छन्, “मेरो सबैभन्दा ठूलो गल्ती ? सायद एउटै क्लबमा २२ बर्षसम्म रहनु । मलाई परिवर्तन निकै मनपर्छ । मेरो व्यक्तित्व नै यस्तै छ, साथै मलाई चुनौतिहरुलाई देखेर पछि सर्न मन पर्दैन । सायद यहि चुनौतिहरु पूरा गर्ने लोभमा मैले एउटै क्लबमा २२ बर्ष बिताउन पुगेँ ।”

आफ्नो आर्सनल करियरका क्रममा क्लबका लागि आफूले गरेको त्यागलाई सबैभन्दा कठिन क्षण मान्दै उनले अगाडी भनेका छन्, “आफ्नो पेशाप्रतिको लगाव र मायाका कारण मैले आफ्नो परिवार र नजिकका व्यक्तिहरुलाई निकै आहत बनाएको छु । मलाई यो कुरामा निकै दुःख छ, तर आफ्नै धुनमा हिड्ने मानिसहरु स्वार्थी भईदिन्छन् ।”

अन्तिममा उनले आफ्नो भविष्यप्रति चर्चा गर्दै भनेका छन्, “मैले यो बिषयमा अहिलेसम्म निर्णय लिएको छैन । मैले केही समयदेखि आफैलाई प्रश्न सोधिरहेको छु, के मैले कोचिङ करियरलाई निरन्तरता दिनपर्छ ? वा आफ्नो खेलसँग सम्बन्धित अनुभवहरुलाई आम मानिसहरुसँग शेयर गर्नुपर्छ ? आउने २–३ महिनामा यो प्रश्नको जवाफले मेरो भविष्य निर्धारण गर्नेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...