लिभरपुलका स्टार मिडफिल्डरले लगभग पूरै सिजन मिस गर्ने

एजेन्सी । लिभरपुलका इङलिस मिडफिल्डर एलेक्स अक्सलेड चेम्बरलेन घुँडाको लिगामेन्ट चोटका कारण सन् २०१८–१९ को लगभग पूरै सिजन मिस गर्ने भएका छन् । यसबारे लिभरपुलले आफ्नो ट्वीटर एकाण्टमा पुष्टी गरेको छ ।

उता लिभरपुलका म्यानेजर यर्गन क्लपले यदि यी २४ बर्षिय मिडफिल्डर यस सिजन थोरै भए पनि क्लबका लागि खेल्न सके त्यो मर्सिसाईडरका लागि ठूलो राहत हुने बताएका छन् । स्मरणीय छ कि चेम्बरलेन गत सिजनको च्याम्पियन्स लिगतर्फ सेमिफाइनलमा रोमाविरुद्ध खेल्ने क्रममा चोटिल बन्न पुगेका थिए । त्यसको आठ दिनपछि उनको शल्यक्रिया गरिएको थियो ।


लिभरपुलका म्यानेजर क्लपले क्लबको आधिकारिक वेबसाईटमा भनेका छन्, “अक्सले आफ्नो धेरैजसो समय चोटमुक्त हुने प्रयासमा बिताउने छन् । जतिबेला उनी चोटिल भएका थिए, त्यतिबेला नै हामीलाई यो कुरा थाहा थियो । मलाई विश्वास छ कि सबैले यो जानकारीलाई जिम्मेवारीका साथ लिनेछन् ।

यो हाम्रो लागि कुनै झट्का होईन, किनकी हामी यसबारे पछिल्लो सिजनदेखि नै योजना बनाईरहेका थियौं । तर अहिले हामीले यसलाई सार्वजनिक रुपमा खुलासा गरेका छौं । पछिल्ला सिजन क्लब र स्ट्याण्डमा रहेका समर्थकहरुलाई असर पर्ने भएकोले अक्सले आफ्नो चोटबारे सबैलाई खुलासा नगर्न आग्रह गरेका थिए । यदि उनी यो सिजन मैदानमा फर्किए त्यो हाम्रो लागी बोनस हुनेछ ।


हाम्रो लागि सबै कुराहरु सही तरिकाले गर्नु आवश्यक छ । हामी उनको स्वास्थ्य लाभका लागि हतार गर्न चाहन्नौं । उनलाई यसले कुनै समस्या परेको छैन । उनी एक शानदार व्यक्ति हुन् । मलाई विश्वास छ उनी पूर्ण रुपमा ठिक भएर फर्किने छन् । हामी उनलाई पर्खने छौं, त्यसका लागि हामीले धैर्य गर्नुपर्छ ।”

चेम्बरलेनले लिभरपुलका लागि आफ्नो पहिलो सिजनमा ४२ खेल खेलेका थिए । उनी गत सिजन ४० मिलियन पाउण्डमा आर्सनलबाट एनफिल्डमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...