एसिया पुगेर सन्यास लिन चाहन्नथें : रोनाल्डो

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोका अनुसार उनले इटालियन च्याम्पियन युभेन्ट्स जस्तो ठूलो क्लबका लागि रियल मेड्रिड छोड्न चाहेको कुरा खुलासा गरेका छन् । उनका अनुसार आफ्नो सफलताले भरिएको फुटबल करियरलाई चीन वा कतारमा पुगेर समाप्त गर्न चाहँदैनथे ।

रोनाल्डोले युभेन्ट्समा मेडिकल पूरा गरेपछि क्लबले सोमबार राती उनलाई आधिकारिक रुपमा अनावरण गरेको थियो । युभेन्ट्सले रोनाल्डोलाई पछिल्ला साता मात्र १०५ मिलियन युरोमा रियल मेड्रिडबाट अनुबन्ध गरेको थियो । चर्चित फुटबल साईट गोलका अनुसार रोनाल्डोले युभेन्ट्सका लागि आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो लागि कुनै सहज विकल्प छनौट गर्नुभन्दा फुटबलको उच्च तहमा खेल्ने कुरा बताएका थिए ।


मिडियासँग कुराकानीका क्रममा रोनाल्डोले भने, “मैले रियल मेड्रिड छोडेर निराश छैन । यो एउटा ठूलो क्लब हो । म गर्वका साथ भन्न सक्छु कि मेरो उमेरका खेलाडीहरु यो बेला कतार वा चीन जाने गर्दछन् । त्यसैले मलाई युभेन्ट्समा आवद्ध हुने मौका दिएकोमा म क्लबप्रति आभारी छु ।”

रोनाल्डोले उदाहरणका रुपमा बार्सिलोनाका पूर्व लिजेण्ड जाभीको नाम लिएका थिए, जो हाल कतारी क्लब अल सादबाट खेलिरहेका छन् । एसिया हाल ला लिगामा खेल्ने अधिकांश पूर्व स्टार खेलाडीहरुको आकर्षक गन्तव्य बन्ने गरेको छ । आन्द्रेस इनिष्टा र फर्नान्डो टोरेस हालै जापानीज क्लबमा आवद्ध भएका छन् ।

यसका साथै रोनाल्डोले इन्टरनेशनल च्याम्पियन्स कपमा रियल मेड्रिडविरुद्धको कुनै खेलमा पनि युभेन्ट्सका लागि नखेल्ने स्पष्ट पारेका छन् । यो निर्णयसँगै रोनाल्डोका फ्यानहरुले उनलाई रियलविरुद्ध खेलेको हेर्न च्याम्पियन्स लिगको सम्भावित खेल नै पर्खनु पर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...