विश्वकप पछि रुसका स्टेडियमहरुको भविष्य अनिश्चित, राष्ट्रपति पुटिन पनि चिन्तित

एजेन्सी । फिफा विश्वकप २०१८ को समापनपछि विश्वकपका लागि बनाइएको स्टेडियमहरुको अनिश्चित भविष्यका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित बनेका छन् । विश्वकपका लागि स्टेडियम निर्माण तथा स्तारोन्नतिका लागि मात्र रुसले करिब ४ बिलियन डलर खर्च गरेको थियो ।

त्यसमा पहिल्यै विकसित शहरहरुमा बनाईसकिएको स्टेडियम र देशका पिछडिएका स्थानहरुमा बनाइएको स्टेडियमहरु पनि समावेश छन् । यस्ता स्टेडियमहरुमध्ये भोल्गा नदीको किनारमा बनाइएको निझ्नी नोभगोरोड स्टेडियम र एकान्त स्थान सारांस्कमा बनाइएका स्टेडियमहरु सामेल छन् ।


विश्वकपको सफल आयोजनापश्चात् राष्ट्रयपति पुटिनले यी स्टेडियमहरुलाई भविष्यमा पनि राम्रोसँग प्रयोगमा ल्याउन चाहन्छन् । पछिल्लो दुई दशकदेखि रुसको सत्ता सम्हालिरहेका पुटिन यसबारेमा निकै गम्भिर देखिएका छन् ।

पुटिन भन्छन्, “म स्टेडियमका आफ्ना सहयोगीहरुलाई भन्न चाहन्छु कि तपाईंहरु १९९० को मध्यमा जस्तै यी स्टेडियमहरुलाई कुनै पनि मूल्यमा बजारमा परिवर्तन गर्न सक्नुहुन्न ।”

फाइनल खेल आयोजना गरेको लुझनिकी स्टेडियम वा सेन्ट पिटर्सबर्गमा रहेका स्टेडियमहरुमा खासै समस्या छैन । तर सारांस्क र समारा स्टेडियम यस्तो टोलीहरुको घरेलु मैदान हो जहाँ केही हजार दर्शकहरु मात्र फुटबल म्याचका लागि आकर्षित हुने गर्दछन् ।


फिफा विश्वकपको आयोजना गरेको रुसको ११ शहरको १२ स्टेडियमहरुको भविष्यमाथि प्रश्न उठ्नु अर्को मुख्य कारण भनेको रसियन प्रिमियर लिगमा खेल्ने १६ टोलीहरुमध्ये ४–५ टोलीका समर्थकहरु मात्र खेलका क्रममा बाक्लो उपस्थिति जनाउँछन् ।

रसियन प्रिमियर लिग हेर्न औसत १२ देखि १३ हजार दर्शकहरु आउने गर्दछन् । जबकी विश्वकपका लागि बनाइएको स्टेडियमहरुको दर्शक क्षमता कम्तिमा पनि ४४ हजारको रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...