सधै उत्कृष्ट टिमले नै जित्नुपर्छ भन्ने जरुरी छैन : मोड्रिक

एजेन्सी । फ्रान्ससँग रसिया विश्वकपको फाइनलमा ४–२ ले पराजित भएपछि क्रोएशियाका कप्तान तथा गोल्डेन बल बिजेता लुका मोड्रिकले रेफ्रीमाथि प्रश्न उठाएका छन् ।

पोष्ट म्याच इन्टरभ्यूका बेला उनले भनेका थिए, “हामीले जे कुरा पनि हासिल गर्यौं त्यसका लागि हामी गर्व महशुस गर्दैछौं । तर यो साँचो हो कि फाइनलको पराजय सहज हुँदैन । हामी अन्तिमसम्म लड्यौ र हार मानेनौं । हामीले ४–१ को स्कोर हुँदा पनि हार मानेनौं । तर हामी कसैलाई दोष दिन सक्दैनौं ।”

फाइनलमा हारे तापनि फिफा विश्वकप २०१८ को उत्कृष्ट खेलाडी बन्दै स्टार मिडफिल्डर मोड्रिकले गोल्डेन बल अवार्ड भने जित्न सफल भएका थिए ।

यसबारे सोधिएको प्रश्नमा मोड्रिक भन्छन्, “स्वभाविक हो कि गोल्डेन बल जितेर म खुशी छु तर म विश्वकपको उपाधि जित्न मन पराउँछु । हामी आउने केहि दिनमा यो ठूलो उपलब्धीका लागि खुशीयाली मनाउने छौं । तर यो तितो यथार्थ पनि हो कि हामी निराश पनि छौं ।”


भारको सहयोगमा फ्रान्सलाई फिफा विश्वकप २०१८ को फाइनलमा पेनाल्टी दिएकोमा मोड्रिकले रेफ्रीमाथि पनि प्रश्न उठाएका छन् । उनी भन्छन्, “मैले पेनाल्टी देखेको थिएन । तर इभान पेरिसिचले मलाई आफूले यो नियतवश नगरेको बताएका थिए । अन्य खेलाडीहरुले पनि त्यसै भनिरहेका थिए ।

पहिलो गोलमा फल थिएन । हामी फ्रान्समाथि हावी थियौं, त्यतिबेला नै यो पेनाल्टी आइपुग्यो । यो अवस्थामा तपाईंलाई काउन्टर अट्याकका लागि लड्नु र काम गर्नुपर्छ । तर जे भयो हामी त्यसलाई परिवर्तन गर्न सक्दैनौं ।”

के क्रोएशिया विश्वकपमा यो उपलब्धी भन्दा बढी हकदार थियो ? भन्ने प्रश्नमा मोड्रिक भन्छन्, “मलाई लाग्छ फाइनलमा हामी बढी हकदार थियौं तर यो फुटबल हो । हामीले गर्व महशुस गर्नुपर्छ कि विपक्षीविरुद्ध हामी झुकेनौं ।”

त्यस्तै उनले सन् २०२२ मा हुने कतार विश्वकपका बारेमा बोल्न हतार नगर्ने बताए । रुसमा हात पारेको सफलताबारे बोल्दै यी क्रोएशियन कप्तान अगाडी भन्छन्, “हामीले आफ्नो टाउको उठाएर मैदान छाडेका छौं । हामी निकै नजिक थियौं र यो सहज हुँदैन । हामी धेरै डिजर्भ गर्छौं तर बेस्ट टिमले सधै जित्दैन । त्यसैले फुटबल विश्व कै उत्कृष्ट खेल हो । यद्यपि जब तपाईं हार्नुहुन्छ, त्यो सहज हुँदैन ।”


प्रतिक्रिया दिनुहोस

Loading...