हरेक बर्ष सुध्रिदैछ भारतीय फुटबलको स्तर : डारियो

एजेन्सी । चर्चित मेलबर्न सिटी फुटबल क्लबका अष्ट्रेलियन स्टारद्वय डारियो विडोसिक र युजिन गलेकोभिकले भारतीय फुटबलको प्रशंसा गर्दै भारतीय फुटबल बर्षै बर्ष विकसित हुँदै गईरहेको बताएका छन् ।

स्मरणीय छ कि भारतले आफ्नो इतिहासमा पहिलोपटक कुनै अन्तर्राष्ट्रिय प्रि–सिजन प्रतियोगिताको आयोजना गर्दैछ । आउँदो २४ जुलाईदेखि कोच्चीमा हुने पाँच दिने ला लिगा विश्व च्याम्पियनसिपमा भारतको तर्फबाट केरला ब्लास्टर्स, अष्ट्रेलियन ए लिग क्लब मेलबर्न सिटी एफसी र ला लिगा क्लब जिरोना एफसीले सहभागिता जनाउँदै छन् ।


मिडियासँग कुराकानीका क्रममा विडोसिकले भनेका छन्, “हामीले भारतीय फुटबलका बारेमा धेरै कुरा सुनेका छौं र हामी यो प्रतियोगितालाई उत्सुकताका साथ पर्खिरहेका छौं । हामीले कयौं पटक भारतीय लिग फुटबल पनि हेरेका छौं र उनीहरुको स्तर निकै राम्रो छ ।

यो प्रतियोगिता हाम्रो लागि ला लिगाको टप हाफमा रहेको जिरोना एफसी र भारतीय फुटबलमा उदाउँदै गरेको केरला ब्लास्टर्सविरुद्ध ठूलो समर्थकहरुको बीचमा खेल्ने सुनौलो अवसर पनि हो, जुन हामी गुमाउन चाहदैनौं ।”

त्यस्तै मेलबर्न सिटीका गोलरक्षक गलेकोभिक पनि आफ्नो टिममेटको भनाईसँग सहमत छन् । उनी भन्छन्, “फुर्सद हुना साथ म भारतीय लिग म्याच हेर्ने गर्दछु र मान्नुपर्छ उनीहरुले केवल चार–पाँच बर्षको अन्तराल मै उनीहरुको स्तर निकै राम्रो भईसकेको छ । हरेक बर्ष सुधार गरिरहेको भारतीय लिगको टोलीविरुद्ध खेल्नु हाम्रो लागि राम्रो चुनौति पनि हो ।”


प्रतिक्रिया दिनुहोस

Loading...