फिफा विश्वकप २०२२ : पहिलोपटक चिसो मौसममा हुनेछ विश्व फुटबलको महाभिडन्त

एजेन्सी । आइतबार फ्रान्सले क्रोएशियालाई हराउँदै विश्वकपको उपाधि जितेपछि समापन कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी विश्वकपको जिम्मेवारी कतारलाई सुम्पिएका छन् ।

पुटिनले कतारका आमिर शेख तमीम बिन हमाद अल थानी र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोसँग भेटघाट गरे । कुराकानीका क्रममा पुटिनले भने, “रुसले विश्वकप सफलताका साथ आयोजना गरेको छ र हामीलाई आशा छ कतारका मित्रहरुले पनि सन् २०२२ को यो प्रतिष्ठित प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नेछन् ।”


फिफा अध्यक्ष इन्फेन्टिनोले रुसमा सम्पन्न विश्वकपलाई अहिलेसम्म कै सर्वश्रेष्ठ विश्वकप मानेका छन् । साथै यो विश्वकपको सफल आयोजना आयोजक रुसप्रति विश्व समुदायको धारणा पनि परिवर्तन गरेको बताएका छन् ।

त्यस्तै इन्फेन्टिनोले विश्वकप फुटबल प्रतियोगिता पहिलोपटक चिसो मौसममा आयोजना गरिने समेत पुष्टी गरेका छन् । फिफा विश्वकप २०२२ एसियाली देश कतारले आयोजना गर्दैछ । साथै यो प्रतियोगिता २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना गरिने भएको छ ।


ग्रीष्म ऋतुको समयमा कतारमा अत्याधिक गर्मी हुने भएकोले यो निर्णय गरिएको हो । यद्यपि फिफा विश्वकपको समय परिवर्तनले युरोपका कतिपय टप लिगहरुले समस्या भोग्नु पर्ने निश्चित छ ।

क्रिसमस ब्रेक विश्व कै व्यस्त समय मध्ये एक हो । यसक्रममा हुने भिडन्तहरुमा दर्शकहरुको उपस्थिति पनि निकै बढ्ने गर्दछ । तर यसै बेला फिफा विश्वकपको परिवर्तित मितिका कारण युरोपका टप लिगहरुलाई घाटा हुने देखिएको छ । साथै उनीहरुले आफ्नो खेलतालिका पनि परिवर्तन गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...