फिफा विश्वकप २०१८ : फ्रान्सले हात पार्यो ४१४ करोड भन्दा बढी पुरस्कार रकम

एजेन्सी । रसियाको मस्कोस्थित लुझनिकी स्टेडियममा आइतबार खेलिएको फिफा विश्वकपको फाइनलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले हराउँदै सन् १९९८ पछि दोस्रोपटक विश्वकपको उपाधि जित्न सफल भयो ।

फ्रान्सका लागि एन्टोइन ग्रीजमन, पाउल पोग्बा, किलियन एम्बाप्पेले एक–एक गोल गरे भने थप एक गोल क्रोएशिया कै मारियो मान्डुकिचले आत्मघाती गोलका रुपमा गरेका थिए । यो जितसँगै फ्रान्सले सन् २०१६ को युरोमा पोर्चुगलसँग बेहोरेको फाइनल खेलको पराजयको पिडा पनि लगभग बिर्सिएको छ ।


विश्वकपको उपाधि जितेपछि फ्रान्सले उपाधिसँगै ३८ मिलियन अमेरिकी डलर (४१४ करोड रुपैया भन्दा बढी) प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको क्रोएशियाले २८ मिलियन डलर (३०५ करोड रुपैया भन्दा बढी) हात पारेको छ ।

यसरी बाँडियो पुरस्कार रकम

विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियमले २४ मिलियन डलर (२६१ करोड रुपैया भन्दा बढी) हात पारेको छ भने चौथो स्थान हात पारेको इङल्याण्डले २२ मिलियन डलर (२३९ करोड रुपेया भन्दा बढी) हात पारेको छ ।

त्यसैगरी क्वाटरफाइनलमा पराजित हुने टोली उरुग्वे, ब्राजील, स्वीडेन, रुसले १८ मिलियन डलर (१९६ करोड रुपैया भन्दा बढी) हात पारेको छ भने प्रिक्वाटरफाइनलमा पराजित हुने अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, जापान, मेक्सिको, स्वीटजरल्याण्ड र कोलम्बियाले १२ मिलियन डलर (१३० करोड रुपैया भन्दा बढी) हात पारेका छन् ।


त्यस्तै समूह चरणबाट बाहिरिने टोलीहरुलाई ८ मिलियन डलर (८७ करोड रुपैया भन्दा बढी) प्राप्त गरेका छन् । विश्वकपमा छनौट भएका प्रत्येक टोलीलाई १.५ मिलियन डलर तयारी स्वरुप समेत दिइएको थियो ।

त्यस्तै फिफाले क्लबको आम्दानी कार्यक्रमको तहत विश्वकपका लागि क्लबबाट खेलाडीहरुलाई फुकुवा गर्ने सदस्य राष्ट्रहरुलाई कुल २०९ मिलियन डलर दिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...