फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन

एजेन्सी । रसिया विश्वकपको फाइनलमा आइतबार शानदार जित हात पार्दै सन् १९९८ पछि दोस्रो पटक फ्रान्स फिफा विश्वकपको उपाधि जित्न सफल भएको छ । लुझनिकी स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा फ्रान्सले क्रोएशियामाथि ४–२ को एकतर्फी र शानदार जित हात पार्यो ।

खेलको १८ औं मिनटमै फ्रान्सले विपक्षीको आत्मघाती गोलबाट शुरुवाती अग्रता लिन पुगेको थियो । एन्टोइन ग्रिजमनले प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डुकिचले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

यद्यपि खेलको २८ औं मिनटमा डामागोज विडाको पासमा इभान पेरिसिकले क्रोएशियाका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । तर क्रोएशियाले त्यो बराबरी गोलको खुशी पनि धेरै बेर मनाउन सकेन ।

बराबरी गोल फर्काएका पेरिसिकले नै बक्स भित्र ह्याण्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । जुन अवसरलाई एन्टोईन ग्रीजमनले खेलको ३८ औं मिनटमा गोलमा परिणत गर्दै फ्रान्सलाई दोस्रोपटक अग्रता दिलाएका थिए ।


त्यस्तै खेलको ६५ औं मिनटमा स्टार मिडफिल्डर पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे भने शानदार लयमा रहेका युवा फरवार्ड किलियन एम्बाप्पेले फ्रेन्च टोलीका लागि चौथो गोल गर्दै जित पक्का गरेका थिए । एम्बाप्पेको यो गोलसँगै उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बनेका छन्् ।

यसअघि पेलेले सन् १९५८ को विश्वकपमा यो उपलब्धी हासिल गरेका थिए । उता चौथो गोल खाएको पाँच मिनट बित्न नपाउँदै खेलको ६९ औं मिनटमा मारियो मान्डुकिचले क्रोएशियाका लागि दोस्रो गोल फर्काए तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

यो उपाधिसँगै फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि सन् १९९८ मा घरमै सम्पन्न फिफा विश्वकपको उपाधि फ्रान्सले डेसच्याम्प कै कप्तानीमा जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...