रसिया विश्वकप फाइनल क्रोएशिया VS फ्रान्स : थाहा पाउनुहोस् रोचक तथ्यांक

एजेन्सी । जारी रसिया विश्वकपतर्फ मस्कोस्थित लुझनिकी स्टेडियममा दावेदार मानिएको फ्रान्सले अण्डरडग क्रोएशियाको सामना गर्दैछ । आउनुहोस आजको फाइनल भिडन्तसँग सम्बन्धित केही रोचक तथ्यांकबारे चर्चा गरौं ।

समूह चरणतर्फ फ्रान्सले आफ्नो खेलमा अष्ट्रेलियालाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा पेरुलाई १–० ले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा डेनर्माकसँग गोलरहित बराबरी खेलेको थियो । जारी विश्वकपको यो पहिलो बराबरी समेत थियो ।

त्यस्तै नकआउट चरणमा फ्रान्सले बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि ४–३ रोमाञ्चक जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा बेल्जियमलाई १–० ले निराश तुल्याउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।


उता क्रोएशियाले भने समूह चरणमा शतप्रतिशत जितका साथ नकआउट चरणको यात्रा तय गरेको थियो । समूह डी मा रहेको क्रोएशियाले आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ ले पराजित गरेको थियो ।

त्यस्तै क्रोएशियाले नकआउट चरणमा डेनमार्कलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको थियो । त्यसअघि दुवै टोलीले निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए । त्यसैगरी क्वाटरफाइनलमा पनि क्रोएशियाले आयोजक रुसलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराएको थियो ।


त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ को रोमाञ्चक बराबरी खेलेका थिए । सेमिफाइनलमा क्रोएशियाले इङल्याण्डलाई एक्स्ट्रा टाईममा २–१ ले हराउँदै पहिलोपटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

फ्रान्स विरुद्ध क्रोएशिया – हेड टु हेड

फ्रान्स र क्रोएशिया हालसम्म कुल पाँच पटक आमने सामने भएका छन् । जसमध्ये फ्रान्सले ३ खेलमा जित हात पारेको छ भने दुई खेल बराबरीमा सकिएको छ । त्यसक्रममा फ्रान्सले ९ गोल गरेको छ भने क्रोएशियाले मात्र ३ गोल गरेको छ ।

खेलसँग सम्बन्धित रोचक तथ्यहरु:

१. फिफा विश्वकप इतिहासको यो ९०० औं भिडन्त हुनेछ ।

२. विश्वकपको पहिलो खेल सन् १९३० को १३ जुलाईका दिन उरुग्वेको मोन्टेभिडियोमा भएको थियो । जहाँ फ्रान्सले मेक्सिकोलाई ४–१ ले हराएको थियो ।

३. फ्रान्सले यसअघि क्रोएशियासँग पाँच पटक भिडेको छ । जसमध्ये तीन खेलमा फ्रान्सले जित हात पारेको छ भने दुई खेल बराबरीमा सकिएको छ । यी दुई टोलीबीच पछिल्लो भेट सन् २०११ मा भएको थियो । जहाँ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । क्रोएशियामाथि फ्रान्सले हात पारेको तीनै जितमा वर्तमान फ्रेन्च प्रशिक्षक डिडिएर डेसच्याम्प खेलाडीका रुपमा रहेका थिए ।


४. फ्रान्स र क्रोएशियाबीच पहिलो विश्वकप भिडन्त सन् १९९८ मा भएको थियो, जसमा फ्रान्सले २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलमा डेभोर सुकरको गोलबाट क्रोएशियाले शुरुवाती अग्रता लिएको थियो । यद्यपि फ्रान्सका लागि लिलियन थुरामले दुई गोल गरेपछि नतिजा फ्रेन्च टोलीले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

५. फ्रान्स र क्रोएशियाबीच आज हुने फाइनल विश्वकपको नवौं ‘अल युरोपियन’ फाइनल भिडन्त हुनेछ ।

६. विश्वकप छनौटमा प्ले अफबाट अन्तिम चरणमा छनौट हुँदै विश्वकपको फाइनलमा पुग्ने क्रोएशिया दोस्रो टोली बनेको छ । विश्वकप छनौटको प्ले अफमा क्रोएशियाले ग्रीसलाई हराएको थियो । यसअघि यो उपलब्धी सन् २००२ मा जर्मनीले हासिल गरेको थियो । त्यतिबेला जर्मनीले विश्वकप छनौटको प्ले अफमा युक्रेनलाई हराउँदै विश्वकपका लागि छनौट भएको थियो र फाइनलसम्मको यात्रा तय गरेको थियो ।

७. फ्रान्सको यो तेस्रो विश्वकप फाइनल समेत हो । यसअघि सन् १९९८ को फाइनलमा ब्राजीललाई ३–० ले हराउँदै फ्रान्सले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । त्यसपछि सन् २००६ को फाइनलमा फ्रान्सले इटालीसँग पेनाल्टीमा हार बेहोरेको थियो ।

८. क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । क्रोएशिया यो उपलब्धी हासिल गर्ने विश्वको १३ औं र युरोपको दशौं देश समेत हो ।

९. क्रोएशियाले जारी विश्वकपमा तीन पटक एक्स्ट्रा टाईमसम्म खेलेको छ । यसअघि इङल्याण्डले सन् १९९० को विश्वकपमा तीन एक्स्ट्रा टाईमसम्म खेलेको थियो ।

१०. सेमिफाइनलमा एक्स्ट्रा टाईम खेल्ने देशहरुले आठ मध्ये दुई पटक मात्र विश्वकपको उपाधि जितेका छन् । (जर्मनी १९९० र इटाली २००६)

११. फ्रेन्च प्रशिक्षक डिडिएर डेसच्याम्प खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्न सक्ने संघारमा छन् । यो उपलब्धी यसअघि मारियो जगालो र फ्रान्ज बेकनबाएरले मात्र हात पारेका छन् ।

१२. क्रोएशियाका कप्तान लुका मोड्रिक आज फाइनल भिडन्तका लागि मैदानमा उत्रिदा विश्वकपमा यो उनको १२ औं खेल हुनेछ । साथै उनले आजको फाइनल खेलसँगै पूर्व खेलाडी डारियो सिमिचलाई पछि पार्दै क्रोएशियाका लागि सर्वाधिक विश्वकपको म्याच खेल्ने खेलाडी समेत बन्ने छन् ।

१३.नेस्टर पिटाना विश्वकपको फाइनल खेलाउने दोस्रो अर्जेन्टिनी रेफ्री बन्नेछन् । यसअघि सन् २००६ को विश्वकपमा होरसिया एलिजोन्डोले फ्रान्स र इटालीबीचको फाइनल खेलाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...