सिटीलाई पछि पार्दै चेल्सीले अनुबन्ध गर्यो जर्जिन्हो

एजेन्सी । चेल्सीले इटालियन मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गरेको कुरा पनि आफ्नो सामाजिक सञ्जालमार्फत पुष्टी गर्दै स्टाटस समेत पोष्ट गरेको छ । यसअघि चेल्सीले नापोलीका पूर्व प्रशिक्षक मौरिजियो सार्रीलाई पनि नयाँ म्यानेजरका रुपमा नियुक्त गरेको घोषणा गरेको थियो ।

सार्रीले चेल्सीको जिम्मेवारी सम्हालेपछि स्टामफोर्ड ब्रीज आउने जर्जिन्हो पहिलो खेलाडी बने । चर्चित फुटबल साईट गोलका अनुसार चेल्सीले जर्जिन्होलाई ५० मिलियन पाउण्डमा पाँच बर्षका लागि अनुबन्ध गरेको छ । स्मरणीय छ कि इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले जर्जिन्होलाई लामो समयदेखि अनुबन्ध गर्ने प्रयास गरेको थियो । यद्यपि सार्रीलाई क्लबमा नियुक्त गरेपछि उनका उपस्थितिमा चेल्सीलाई जर्जिन्होलाई भित्राउन फाईदा समेत पुग्यो ।


चेल्सीमा आवद्ध भएपछि जर्जिन्होले क्लबको आधिकारिक वेबसाईटसँग कुरा गर्दै भनेका छन्, “म यहाँ चेल्सीमा आएर निकै आनन्द महशुस गरिरहेको छु । यति ठूलो क्लबको सदस्य बन्नु सजिलो कुरा होईन । म निकै खुशी छु । म यस्तो टिमको सदस्य बनेर निकै उत्साहित छु जसले जित हात पार्न आफ्नो सबै कुरा दाउमा लगाउँछ ।”

जर्जिन्होले सार्रीको नेतृत्वमा नापोलीमा शानदार प्रदर्शन गरेका थिए र चेल्सीले उनीबाट लण्डनमा पनि त्यहि आशा गरेको छ । जर्जिन्होले चेल्सीको जर्सी नम्बर ५ लगाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...