आक्रमक फुटबलका लागि चर्चित सार्री चेल्सीका नयाँ म्यानेजर

एजेन्सी । चर्चित प्रिमियरशिप क्लब चेल्सीले इटालियन प्रशिक्षक मौरिजियो सार्रीलाई आफ्नो नयाँ म्यानेजरका रुपमा नियुक्ती प्रक्रिया पूरा गरेको छ । इटालियन क्लब नापोलीमा सात सफल बर्ष बिताएपछि उनी स्टामफोर्ड ब्रीजमा कमान सम्हाल्न लण्डन आइपुगेका हुन् ।

५९ बर्षिय सार्रीले नापोलीमा आफ्नो शानदार आक्रमक शैलीको फुटबल खेल्ने रणनीतिले सबै समर्थकहरुलाई आकर्षित पारेका थिए । उनले आफ्नो नेतृत्वमा संघर्ष गरिरहेको नापोलीलाई लगातार दुई सिजन सिरि ए को दोस्रो स्थानमा समेत पुराउन सफल भएका थिए ।


उनले सन् २०१७ मा सिरि ए कोच अफ द इयरको अवार्ड पनि जितेका थिए । सार्रीले अर्का इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको स्थान लिनेछन् । कोन्टे शुक्रबार मात्र बर्खास्तीमा परेका थिए । कोन्टेले सन् २०१६–१७ मा चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका थिए भने अर्को बर्ष क्लबलाई प्रतिष्ठित एफए कपको उपाधि समेत जिताएका थिए ।

यति हुँदा हुँदै पनि कोन्टे र चेल्सी क्लबका बोर्ड मेम्बरहरुबीचको सम्बन्ध बिग्रिसकेको थियो । उनले क्लबको ट्रान्सफर पोलिसीबारे सार्वजनिक र गोप्य रुपमा कुरा गर्न थालेपछि क्लब उनीसँग असन्तुष्ट समेत थियो ।


उता चेल्सीसँग तीन बर्षको अनुबन्धपत्रमा हस्ताक्षर गरेपछि सार्रीले भनेका छन्, “म चेल्सीमा आवद्ध भएर निकै खुशी छु । यो मेरो करियरको रमाइलो क्षण पनि हो । म सोमबार अष्ट्रेलिया जानुअघि खेलाडीहरुसँग भेटघाट पनि गर्नेछु ।

मलाई विश्वास छ कि प्रि–सिजन टुरका क्रममा मैले खेलाडीहरुलाई बुझ्न सक्नेछु । हामी फ्यानहरुका लागि उत्कृष्ट फुटबल खेल्न चाहन्छौं र सिजनको अन्त्यसम्म ट्रफीका लागि भिड्न चाहन्छौं । क्लब यसको हकदार पनि हो ।”


प्रतिक्रिया दिनुहोस

Loading...