सकियो हाम्रो समर ट्रान्सफर बिजनेस : एमरी

एजेन्सी । यस समर कुल पाँच खेलाडी अनुबन्ध गरेको आर्सनलका नयाँ म्यानेजर उनाई एमरीले आउँदो सिजनका लागि क्लबको स्क्वाड पूरा भएको बताएका छन् ।

साथै उनले उपयुक्त अवसरमा मात्र नयाँ खेलाडी किन्ने बताएका छन् । आर्सनलले यसै साता सेम्पडोरियाबाट लुकास टोरेरा र फ्रान्सका यु–२० मिडफिल्डर मेटेओ गुईन्डोजीलाई अनुबन्ध गरेको थियो ।


यसअघि आर्सनलले युभेन्ट्सबाट फूल ब्याक स्टिफन लिक्टस्टाईनर, बायर लेभरकुसेनबाट गोलरक्षक बेन्र्ड लेनो र बोरुसिया डर्टमुण्डबाट सेन्ट्रल डिफेन्डर सोक्रटिसलाई अनुबन्ध गरेको थियो ।

गत मईमा आर्सेन वेंगरले नर्थ लण्डन क्लब छोडेपछि उनको स्थानमा आएका एमरीले आर्सनल जस्तो ठूलो क्लबको ढोका नयाँ खेलाडी अनुबन्ध गर्न सधै खुला रहेको बताएका छन् । साथै उनले आफ्नो वर्तमान टिमबाट खुशी समेत रहेको बताएका छन् ।


एमरीले आफ्नो पत्रकार सम्मेलनमा बोल्दै भने, “मलाई लाग्छ यो समयमा आफ्नो स्क्वाड पूरा भईसकेको छ । हामी अब केही राम्रो अवसर मिले मात्र खेलाडी अनुबन्ध गर्नेछौं । ठूला क्लबहरु नयाँ खेलाडी अनुबन्ध गर्न आफ्नो ढोका बन्द गर्दैनन् । तर अहिले हामी ठिक छौं ।

क्लबले नयाँ खेलाडीहरुलाई अनुबन्ध गरेर राम्रो काम गर्यो । म निकै खुशी छु । सामान्यतयाः हामी युवा खेलाडीहरुका बारेमा सोच्छौं, कोही हामीसँगै बस्छन् कसैलाई लोनमा पठाउँछौं । अब हामी पछिल्लो सिजन हामीसँग रहेको खेलाडीहरुबारे सोच्दैछौं, जो यस सिजन लोनमा जान सक्छन् ।”


प्रतिक्रिया दिनुहोस

Loading...