रोचक छ यी फ्रेन्च डिफेन्डरको सेभियादेखि बार्सिलोनासम्मको यात्रा

एजेन्सी । सेभियाका डिफेन्डर क्लिमेन्ट लेंगलेटको ३५.९ मिलियन युरोको रिलिज क्लज रकम रोयल स्पेनिश फुटबल फेडरेशनलाई बुझाएपछि बार्सिलोनाले यी युवा फ्रेन्च स्टारलाई अनुबन्ध गर्न सफल भएको छ ।

बार्सिलोना जान चाहेको आफ्नो मनसाय सेभियालाई बताएपछि लेंगलेटले गत साता क्याटलन क्लबसँग व्यक्तिगत सहमतिसहितको पाँच बर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । बार्सिलोना र लेंगलेट एउटा सम्झौता गर्ने मनसायमा थिए, तर यसबारे सेभिया भने स्पष्ट थिएन ।

सेभियाका अध्यक्ष जोसे केस्ट्रो र फुटबल निर्देशक होआकिन केपारोसले यसअघि बार्सिलोनासँग कुनै सम्झौता नगर्ने बताएका थिए । यसको अर्थ लेंगलेटले आफ्नो रिलिज क्लज पनि आफैले तिर्नु पर्ने अवस्था थियो । उनी स्वतन्त्र रुपमा नोउ क्याम्प जान आफैले ३५.९ मिलियन युरो तिर्नुपर्ने थियो । जुन बार्सिलोनाले तिरेर यी २३ बर्षिय फ्रेन्च डिफेन्डरलाई नोउ क्याम्प ल्याउन सफल भयो ।


गत बर्षको जनवरी ट्रान्सफरमा फ्रेन्च क्लब नान्सीबाट ३.५ मिलियन युरोमा सेभियामा आवद्ध भएका लेंगलेटले ला लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । इङलिस क्लब म्यानचेष्टर युनाइटेडले पनि यी युवा डिफेन्डरलाई अनुबन्ध गर्न चासो देखाएको थियो ।

तर लामो समयदेखि बार्सिलोनासँग कुरा चलिरहेको र क्याटलन क्लबले पछिल्लो समय गरेको प्रयासका कारण लेंगलेट नोउ क्याम्पमा आवद्ध हुन सफल भए । लेंगलेटको रिलिज क्लब मूल्य ३०० मिलियन युरो रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...