अफिशियल : फुलह्याममा आवद्ध भए आर्सनल र चेल्सी टार्गेट ‘अफ्रिकन जाभी’

एजेन्सी । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलह्याम एफसीले आइभोरी कोस्टका सेन्ट्रल मिडफिल्डर जीन माइकल सेरीलाई चार बर्षका लागि अनुबन्ध गरेको छ ।

२६ बर्षिय सेरीले राष्ट्रिय टोलीका लागि १८ क्याप जितेका छन् । उनी सन् २०१७ मा स्पेनीस जायन्ट बार्सिलोनामा आवद्ध हुने प्रक्रिया नजिक समेत पुगेका थिए । यी मिडफिल्डरलाई अनुबन्ध गर्न आर्सनल र चेल्सीले पनि प्रयास गरिरहेको थियो । तर फूलह्यामले आफ्नो शहरी प्रतिद्वन्द्वी क्लबहरुलाई पछि पार्न सफल भयो ।


सेरीले तीन सिजन फ्रेन्च लिग वान क्लब निसमा बिताउने क्रममा १०३ खेलमा १२ गोल गरेका थिए । शुरुवातमा सेरी फूलह्याममा आउन इच्छुक थिएनन् । तर पछि लामो कुराकानी र आकर्षक रकमको प्रस्तावपछि उनी लण्डन आउन राजी भएका थिए ।

सेरीको अनुमानित मुल्य ३० मिलियन पाउण्ड रहेको बताइएको छ र उनले फुलह्यामसँग सन् २०२२ सम्मको सम्झौता गरेका छन् । फुलह्याममा आवद्ध भएपछि सेरीले भनेका छन्, “फुलह्याममा आवद्ध भएर म खुशी छु । यो मेरो नयाँ यात्राको शुरुवात हो र मलाई आशा छ सबै ठिक हुनेछ । अन्ततः आफ्नो स्थानान्तरण पक्का गर्नु शानदार थियो ।”


सेरीको खेल्ने शैलीलाई बार्सिलोना लिजेण्ड जाभी हर्नान्डेजसँग पनि तुलना गर्ने गरिन्छ । साथै उनले अफ्रिकन जाभीको उपनाम समेत पाएका छन् । यसबारे स्वयम् जाभी पनि सेरीको खेलबाट प्रभावित भएको एक अन्तरवार्तामा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...