मोराटाले दिए मेड्रिड फर्कन सक्ने संकेत

एजेन्सी । इङलिस च्याम्पियन चेल्सीका स्पेनीस फरवार्ड अल्भारो मोराटाले आफु भविष्यमा सधै रियल मेड्रिड फर्किन तयार रहेको स्वीकार गरेका छन् । प्रिमियर लिगमा उत्कृष्ट शुरुवात गरेका मोराटा केही साता यतादेखि आलोचकहरुको निशानामा छन् ।

नयाँ बर्ष २०१८ को कयौं मुख्य खेलहरु गुमाएका यी २५ बर्षिय स्पेनीस स्टारमाथि चेल्सीका समर्थकहरुले पनि आशंका व्यक्त गर्न थालेका छन् । गत सिजन ७० मिलियन पाउण्डको किर्तिमानी रकममा बर्नबेयुबाट स्टामफोर्ड ब्रीज आएका मोराटाले हाल आफू फेरि रियल फर्कने सम्भावना रहेको बताएका छन् ।


एक स्पेनीस टेलिभिजनले उनलाई रियलले प्रस्ताव गरेको खण्डमा स्पेन फर्किनुहुन्छ? भन्ने प्रश्नमा मोराटाले भनेका छन् “मैले चेल्सीलाई सम्मान गर्नुपर्छ, जसले मेरो लागि महान प्रयास गरेको छ । म यहाँ निकै खुशी छु । तर मेरा लागि रियल मेड्रिड त सधै मेड्रिड नै रहनेछ ।”

चेल्सीका समर्थकहरु पक्कै पनि उनको यो अभिव्यक्तिबाट निराश छन् होला । साथै उनी अहिले छनौटका लागि उपलब्ध पनि छैनन् । मोराटाले चेल्सीको आगामी खेलमा वेस्ट ब्रोमविरुद्ध पनि खेल्न नसक्ने भएका छन् । पिठ्युको चोटका कारण मोराटाले चेल्सीका लागि लगातार छैटौं खेल पनि मिस गर्ने लगभग निश्चित छ ।

उता चेल्सीका म्यानेजर एन्टोनियो कोन्टेले पनि मोराटा जस्ता खेलाडी आफ्नो लागि सधै महत्वपूर्ण रहे तापनि उनी चोटका कारण संघर्ष गरिरहेकाले टोलीमा कहिले फर्कन्छन् भन्न नसकिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...