“जाबुलानी भन्दा पनि घटिया छ काराबाओ कपको बल” : टुरे

याया टुरे (बाँया) तथा काराबाओ कपमा प्रयोग गरिएको मित्रे बल (दाँया) ।

एजेन्सी । इङल्याण्डको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता मध्ये एक काराबाओ कप (लिग कप) मा प्रयोग भईरहेको बलको आलोचना गर्नेमा चर्चित मिडफिल्डर याया टुरे पनि थपिएका छन् ।

प्रतियोगिताको चौथो चरण अन्तरगत मंगलबार वोल्भरह्याम्पटनविरुद्ध म्यानचेस्टर सिटीले पेनाल्टी शुटआउटमा हात पारेको ४–१ को जितमा टुरले सिटीका लागि पूरा १२० मिनट खेलेका थिए ।

यसअघि सिटीका म्यानेजर पेप गार्डिओलाले पनि काराबाओ कपमा प्रयोग गरिएको बललाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका थिए । अहिले आएर काराबाओ कपमा प्रयोग भईरहेको ‘मित्रे’ बललाई टुरेले पनि खुलैर आलोचना गरेका छन् ।

मिडियासँग कुरा गर्दै ३४ वर्षिय टुरेले भनेका छन् “साँचो भन्ने हो भने मलाई यो बल मन परेको छैन । यो बललाई परिमार्जन गर्न पनि सकिन्छ । यो यति हलुका छ कि मेरो देश (आइभरी कोष्ट) मा पनि यस्तो हलुका बल प्रयोग हुँदैन । सम्बन्धित पक्षले यो बललाई परिमार्जन गर्दै राम्रो बनाउनु पर्छ । यो निकै खराब बल हो ।”

बलको आलोचना गर्दै टुरेले अगाडी भनेका छन् “यसमा सबै कुरा खराब छ । यो निकै हलुका भएकोले यसलाई शुट गर्न गाह्रो पर्छ । बलले तपाईंलाई छोयो भने फ्लट हुन्छ । यो बल अहिलेको मौसममा खेल्नु उपयुक्त पनि छैन ।”

स्मरणीय छ सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न फिफा विश्वकपमा प्रयोग गरिएको बल ‘जाबुलानी’ को पनि खुलेरै आलोचना भएको थियो । र हाल काराबाओ कपमा प्रयोग भईरहेको ‘मित्रे’ बललाई टुरेले ‘जाबुलानी’ भन्दा पनि घटिया बल भनी आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...