फिफा यु–१७ विश्वकपको फाइनलमा इङल्याण्ड र स्पेन भिड्ने

मालीविरुद्ध गोल गरेपछि स्पेनका खेलाडीहरु खुशी मनाउँदै । (तस्विर फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा इङल्याण्ड र स्पेन भिड्ने पक्का भएको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनले गत संस्करणको उपविजेता मालीलाई ३–१ ले हराउँदै इङल्याण्डसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

स्पेनको जितमा कप्तान अबेल रुइजले खेलको १९ औं मिनटमा पहिलो गोल गरे भने ४३ औं मिनटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै ७१ औं मिनटमा स्पेनका लागि फेरान टोरेजले तेस्रो तथा अन्तिम गोल गरे ।

उता मालीका लागि खेलको ७४ औं मिनटमा लसानाले एक मात्र सान्त्वना गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै स्पेनले शनिबार हुने फाइनलमा इङल्याण्डको सामना गर्नेछ । बुधबार नै भएको पहिलो सेमिफाइनलमा इङल्याण्डले बलियो ब्राजीललाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो । अब तेस्रो स्थानका लागि भने शनिबार नै ब्राजील र माली एक आपसमा भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...