रोनाल्डो लगातार दोस्रोपटक फिफाको बर्ष उत्कृष्ट खेलाडी

आफूले प्राप्त गरेको अवार्ड चुम्दै रोनाल्डो ।

एजेन्सी । आफ्ना दुई चिरप्रतिद्वन्द्वी लियोनल मेसी र नेयमारलाई पछि पार्दै पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यस वर्षको उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

लण्डनमा सम्पन्न अवार्ड कार्यक्रममा ३२ वर्षिय रोनाल्डोले लगातार दोस्रोपटक यो अवार्ड जित्ने क्रममा बार्सिलोनाका मेसी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पारे ।

रोनाल्डोले खसेको कुल मतको ४३.१६ प्रतिशत मत प्राप्त गरे । त्यस्तै मेसीले १९.२५ प्रतिशत मत प्राप्त गरेका थिए भने नेयमारलाई ६.९७ प्रतिशत मत प्राप्त गरेका थिए ।

गत सिजन रियल मेड्रिडलाई प्रतिष्ठित युईएफए च्याम्पियन्स लिग र ला लिगा जिताउन रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

वर्षको उत्कृष्ट प्रशिक्षक घोषित रियल मेड्रिड कै प्रशिक्षक जिदान (दाँया)का साथ रोनाल्डो ।

त्यसैगरी बर्षको उत्कृष्ट महिला खेलाडी बार्सिलोना तथा नेदरल्याण्डकी मिडफिल्डर लिके मार्टिन्सले जितीन् ।

त्यस्तै रियल मेड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जिते भने सरिना विगमनले उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् । सरिनाले हाल नेदरल्याण्ड महिला फुटबल टिमकी प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

त्यसैगरी जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको स्कोरपियन किकका लागि आर्सनलका ओलिभियर जिराउडले वर्षको फिफा पुस्कास अवार्ड जितेका छन् ।

अवार्ड घोषणा पछि रोनाल्डोलाई बधाई दिंदै मेसी (दाँया) । (तस्विरहरु एजेन्सी)


प्रतिक्रिया दिनुहोस

Loading...