बार्सिलोनाले मेसीसँग आजिवन अनुबन्धको प्रस्ताव गर्ने !

मेसी । (तस्विर एजेन्सी)

एजेन्सी । चर्चित ला लिगा क्लब बार्सिलोनाले आफ्ना स्टार फरवार्ड लियोनल मेसीसँग आजिवन अनुबन्धको प्रस्ताव गर्ने तयारी पूरा गरेको छ ।

क्लबका सिइओ ओस्कार ग्राउले यसबारे पुष्टी समेत गरेका छन् । मेसीले गत जुलाईमा बार्सिलोनासँग चार वर्षका लागि नयाँ अनुबन्ध गर्ने बताएका थिए । तर उनले आधिकारिक रुपमा अनुबन्धमा हस्ताक्षर भने गरेका छैनन् ।

क्लबका सिइओ ग्राउले भनेका छन् “क्लबका लागि सर्वाधिक गोल गरेका मेसीलाई बार्सिलोनाले आजिवन अनुवन्धको प्रस्ताव गर्नेछ ।”

स्पेनी मिडियाका अनुसार मेसीको खेलजीवन अन्त्य नहुँदासम्म उनलाई नोउ क्याम्प मै राखीरहनका लागि बार्सिलोनाले आजिवन अनुवन्धको प्रस्ताव गर्न लागेको हो ।

हालै सम्पन्न बार्सिलोनाको वार्षिक साधारण सभामा ग्राउले भनेका थिए “जुनमा मेसीले क्लबसँग चार वर्षका लागि अनुबन्धपत्रमा हस्ताक्षर गरेका थिए । तर क्लब उनलाई आजिवन अनुबन्धको प्रस्ताव गर्नेछ । आफ्नो बाल्यकाल नोउ क्याम्पमा बिताएका मेसी बार्सिलोनाको आइकन बनिसकेका छन् । त्यहि भएर हामी मेसी बार्सिलोना मै रहुन् भन्ने चाहन्छौं ।”

स्मरणीय छ कि बार्सिलोनाका पूर्वप्रशिक्षक समेत रहेका हाल इङलिस क्लब म्यानचेष्टर सिटीका म्यानेजर पेप गार्डिओलाले मेसीलाई सिटीमा ल्याउन निकै प्रयास गरिरहेका छन् ।

केवल १३ वर्षको उमेरमा बार्सिलोनामा अनुबन्ध भएका मेसीले १७ वर्षको उमेरमा क्लबका लागि डेब्यु गरेका थिए । त्यस्तै मेसीले बार्साका लागि ५९६ खेल खेल्दै ५२२ गोल गरेका छन् भने ३० उपाधि समेत जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...