प्रिमियर लिगमा आर्सनलको पहिलो अवे जित

आर्सनलका लागि गोल गरेपछि मेसुत ओजिल । (तस्विर एजेन्सी)

एजेन्सी । खराब लयमा रहेको आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो अवे जित दर्ता गर्न सफल भएको छ ।

पहिलो अवे जित हात पार्ने क्रममा आर्सनलले १० खेलाडीमा सिमित इभर्टनलाई उसकै घरेलु मैदान गुडिसन पार्कमा ५–२ गोलको फराकिलो अन्तरले हरायो ।

खेलको १३ औं मिनटमा वायन रुनीको गोलबाट खेलमा अग्रता भने इभर्टनले लिएको थियो । यद्यपि पहिलो हाफ कै ४० औं मिनटमा नाचो मोनरियलले आर्सनलका लागि बराबरी गोल फर्काए भने ५३ औं मिनटमा मेसुत ओजिलले अग्रता दोब्बर पारे ।

त्यस्तै खेलको ६८ औं मिनटमा इड्रिसा गाना गुईले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि इभर्टन दोस्रो हाफको अन्तिम ३० मिनट दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाइदा उठाउँदै खेलको ७४ औं मिनटमा अलेक्जेण्डर लाकाजेट्टीले आर्सनलका लागि तेस्रो गोल गरे भने ९० औं मिनटमा आरोन रामसेले चौथो गोल गरे ।

उता इन्जुरी समयमा इभर्टनका लागि उमर नियास्सेले दोस्रो गोल फर्काए तापनि लगतै आर्सनका लागि अलेक्सिस सान्चेजले पाँचौं गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे ।

जितसँगै ९ खेलबाट १६ अंक जोड्दै आर्सनल पाँचौं स्थानमा छ भने लगातार पाँच खेलमा जितविहीन इभर्टन ८ अंकसहित रेलिगशेन क्षेत्रमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...