रोड्रिग्वेजले अप्रत्याशित रुपमा बायर्न छोड्न सक्ने !

जेम्स रोड्रिग्वेज । (तस्विर एजेन्सी)

एजेन्सी । रियल मेड्रिडबाट लोनमा बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिख पुगेका आक्रमक मिडफिल्डर जेम्स रोड्रिग्वेजको म्युनिखसँग लोन सम्झौता पूरा नहुँदै टुट्ने सम्भावना देखिएको छ ।

स्पेनीस मिडियाहरुको रिपोर्ट अनुसार यी २६ वर्षिय कोलम्बियन मिडफिल्डर म्युनिख छाड्दै स्पेन नफर्किएर चर्चित अमेरिकी फुटबल लिग एमएलस (मेजर लिग सकर) तर्फ जान सक्नेछन् ।

स्पेनी मिडियाहरुका अनुसार रियलले जेम्सलाई दुई वर्षको लोनमा म्युनिख पठाएको थियो । तर हाल उनी अमेरिकातिर जाने हल्ला फैलिएपछि रियलले उनलाई बिचैमा स्पेन फर्काउन सक्ने बताइएको छ ।

उता अमेरिकी क्लबहरुले जेम्सलाई आफ्नो क्लबमा भित्राउन रियलसँग राम्रो मूल्यको प्रस्ताव समेत गरिरहेको छ ।

म्युनिखका पूर्व म्यानेजर कार्लो एन्सेलोट्टी बर्खास्तीमा परे लगत्तै जेम्स हाल समस्याहरुका बीच घेरिएका छन् । स्मरणीय छ कि जेम्सलाई रियलबाट एन्सेलोट्टीले नै लोनमा ल्याएका थिए ।

स्रोतका अनुसार म्युनिखका नयाँ प्रशिक्षक यप हेंकेस र जेम्सबीच राम्रो सम्बन्ध नरहेको बताइन्छ । खबर अनुसार जेम्समाथि इटालियन क्लब युभेन्ट्स, इन्टर र एसी मिलानले पनि अनुबन्ध गर्न चासो देखाएको छ ।

यदि यी तीन मध्ये कुनै एक क्लबले जेम्सलाई अनुबन्ध गर्न खोजेको खण्डमा उनीहरुले कम्तिमा पनि ८० मिलियन युरो खर्चनु पर्नेछ । सन् २०१४ मा रियलले जेम्सलाई मोनाकोबाट भित्राउँदा ८० मिलियन युरो नै खर्चिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...