क्याटलोनिया बिना स्पेन र बार्सा बिना ला लिगा देख्न सक्दैनन् रियल अध्यक्ष पेरेज

रियल अध्यक्ष पेरेज । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनीस र युरोपियन च्याम्पियन रियल मेड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका अनुसार बार्सिलोनाले ला लिगा छाडेर इङलिस प्रिमियर लिगमा जाने कुनै मौका नरहेको बताएका छन् ।

स्मरणीय छ कि यदि क्याटलोनिया स्पेनबाट अलग भयो भने बार्सिलोनालाई अन्य देशको लिगमा खेल्ने अवसर समेत छ । हालै स्पेनबाट क्याटलोनिया अलग हुने वा नहुने विषयमा भएको जनमत संग्रहलाई स्पेनले अवैध घोषणा गरेको थियो ।

यता पेरेज भने आफ्नो क्लबको कट्टर प्रतिद्वन्द्वी बार्सिलोना बिना रियलको भविष्यबारे सोच्न समेत सक्दैनन् ।

स्पेनी सञ्चारमाध्यम एल इस्पानोलसँग कुरा गर्दै पेरेजले भनेका छन् “म क्याटलोनियाबिना न स्पेनलाई देख्न सक्छु न बार्सा बिना ला लिगालाई । त्यसैले म यसबारे केही जवाफ दिन पनि सक्दिन किनकी म यो कुराको कल्पना पनि गर्न सक्दिन ।”

उल्लेखनीय छ कि यहि महिनाको शुरुवातमा बार्साले लास पाल्मासविरुद्ध कडा सुरक्षाकाबीच दर्शकविहीन खाली नोउ क्याम्पमा खेलेको थियो ।

बार्सिलोनाका सेन्टर ब्याक डिफेन्डर जेरार्ड पिके स्वतन्त्र क्याटलोनियाका समर्थक हुन् । उता स्पेनका फुटबल समर्थकहरु पिकेले स्पेनको राष्ट्रिय टोलीबाट नखेलोस् भन्ने चाहन्छन् । यद्यपि यस कुरालाई रियलका अध्यक्ष पेरेज भने ठाडै अस्वीकार गर्छन् ।

पेरेज भन्छन् “मलाई लाग्छ, राष्ट्रिय टोली ती सबैका लागि खुला राख्नुपर्छ, जसभित्र राष्ट्रिय टोलीको भावना छ । जो एकजुट छन् र राम्रो माहौल बनाउँछन् । साँचो भन्नुपर्दा मैले विगतका केही खेलहरुमा यहि देखेको छु ।”

 


प्रतिक्रिया दिनुहोस

Loading...