“यो उमेरमा मेसीभन्दा बढी प्रोफेशनल छन् म्बाप्पे”

म्बाप्पे (बाँया) तथा मेसी (दाँया) ।

एजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीका पूर्व टिममेट लुडोविक ग्युलीका अनुसार १८ वर्षको उमेरमा मेसीले जुन व्यवसायिकता देखाएका थिए, त्योभन्दा बढी किलियन म्बाप्पेले देखाईरहेका छन् ।

सन् २०१६–१७ को सिजनमा मोनाकोबाट उत्कृष्ट प्रदर्शन गर्दै म्बाप्पेले आफूलाई अब्बल रहेको प्रमाणित गरेका थिए । त्यसलगतै उनी युरोपका ठूला क्लबहरुको नजरमा परेका थिए ।

यद्यपि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नै म्बाप्पेलाई लोनमा अनुबन्ध गर्न सफल भएको थियो । आगामी सिजनमा उनी पिएसजीका लागि स्थायी रुपमा अनुबन्ध हुनेछन् । जसका लागि पिएसजीले म्बाप्पेलाई अनुबन्ध गर्न १८० मिलियन युरो खर्चिनेछ ।

म्बाप्पेले पिएसजीका लागि सबै स्पर्धामा गरेर ६ खेलमा ३ गोल गरेका छन् । ग्युलीका अनुसार म्बाप्पे मेसीभन्दा चाँडो उत्कृष्टतातर्फ अघि बढीरहेका छन् ।

बार्सिलोनाबाट सँगै खेल्ने क्रममा मेसी (बाँया) तथा ग्युली (दाँया) । (तस्विर एजेन्सी)

पूर्व पिएसजीका स्टार ग्युलीले भनेका छन् “किलियनसँग शानदार क्षमता छ । उनीसँग उत्कृष्ट बन्ने सबैकुरा छ । उनीभित्र व्यवसायिकता छ र उनीसँग एउटा राम्रो सोंचाई छ । उनले आफूलाई थप क्षमतावान बनाउन पिएसजीलाई रोजेका छन् । उनीसँग मेसीमा भन्दा धेरै व्यवसायिकता छ । उनी आफ्नो शरीरलाई राम्रंोसँग सन्तुलनमा राख्न जानेका छन् ।

मेसी जब आफ्नो व्यक्तिगत विकास क्रममा थिए, त्यतिबेला उनमा अनेक स्वास्थ्यसम्बन्धी समस्या थियो । मेसीका लागि यो ज्यादै नै कठिन थियो । किलियनसँग आफ्नो शरीरलाई आफै विकास गर्न सक्ने क्षमता छ र उनी त्यहि क्षमतालाई लिएर अगाडी बढ्न सक्छन् ।”

१३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेसी राम्रोसँग शारीरिक विकास हुन नसक्ने ग्रोथ हार्मोनको समस्याबाट पिडित थिए । उनको सबै उपचार खर्च क्लबले बेहोरेको थियो र उनी पछि पूर्ण रुपमा स्वस्थ भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...