डच कप्तानको दुखद विदाई, अन्तर्राष्ट्रिय फुटबलमा देखिने छैन रोब्बेनको जलवा

मंगलबार राती स्वीडेनविरुद्धको खेल पश्चात् घरेलु समर्थकहरुलाई अभिभावादन फर्काउँदै रोब्बेन । (तस्विर एजेन्सी)

एजेन्सी । नेदरल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा चर्चित विंगर आर्जेन रोब्बेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

आगामी वर्ष हुने रसिया विश्वकपमा नेदरल्याण्डलाई छनौट गराउन असफल भएपछि ३३ वर्षिय रोब्बेनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका हुन् ।

विश्वकपको युरोपियन छनौट अन्तरगत समूह ए मा रहेको नेदरल्याण्डले घरेलु मैदानमा भएको अन्तिम खेलमा स्वीडेनलाई २–० ले पराजित गरेको थियो ।

डच टोलीको जितमा दुवै गोल रोब्बेनले गरे तर उनको त्यो गोल र टोलीको जित नेदरल्याण्डलाई विश्वकपको यात्रा तय गराउन प्रर्याप्त बनेन ।

समूह ए बाट फ्रान्स शिर्ष स्थानमा रहँदै विश्वकपका लागि सोझै छनौट भयो भने नेदरल्याण्ड स्वीडेनसँग हेड टु हेडका आधारमा पछि पर्दै छनौट चरणबाटै बाहिरियो ।

जर्मन बुण्डेसलिगा च्याम्पियन बार्यन म्युनिखबाट व्यवसायीक फुटबल खेलीरहेका रोब्बेनले नेदरल्याण्डका लागि ९६ खेलमा ३७ गोल गरेका छन् ।

सन्यासको घोषणा पछि रोब्बेनले भनेका छन् “यो कठिन निर्णय थियो । म उमेरले पनि ३३ पुगिसकें । अब म केवल क्लब फुटबलमा ध्यान दिन चाहन्छु ।”


प्रतिक्रिया दिनुहोस

Loading...