अष्ट्रेलियाले इन्टर कन्टिनेन्टल प्ले अफ खेल्ने, सिरियाको चुनौति समाप्त (भिडियो सहित)

अष्ट्रेलियाका लागि गोल गरेपछि कप्तान काहिल (अगाडी) । (तस्विर एएफसी)

एजेन्सी । स्टार कप्तान टिम काहिलले दुवै गोल गरेपछि अष्ट्रेलियाले आगामी वर्ष हुने रसिया विश्वकपमा छनौट हुने सम्भावनालाई कायम राखेको छ ।

एसियन छनौटतर्फ सिरियाविरुद्ध प्ले अफको पहिलो लेगमा १–१ को बराबरी खेलेको अष्ट्रेलियाले दोस्रो लेगमा भने २–१ को रोमाञ्चक जित हात पार्दै इन्टरकन्टिनेन्टल प्ले अफका लागि छनौट हुन सफल भयो ।

सिड्नीस्थित स्टेडियममा अष्ट्रेलियामा भएको दोस्रो लेगमा अग्रता भने सिरियाले लिएको थियो । पहिलो हाफको छैठौं मिनटमै ओमर अल–समाहले गोल गर्दै सिरियाले पहिलो हाफमा अग्रता लिए तापनि त्यसलाई धेरै बेर जोगाउन सकेन ।

पहिलो हाफकै १३ औं मिनटमा काहिलले घरेलु टोली अष्ट्रेलियाका लागि पहिलो गोल गरे । त्यसपछिको नियमित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनट काहिलले नै अष्ट्रेलियाका लागि दोस्रो तथा निर्णायक गोल गरे ।

जितसँगै समग्रमा ३–२ को अग्रता हासिल गर्दै अष्ट्रेलियाले इन्टरकन्टिनेन्टल प्ले अफ अन्तरगत होण्डुरसँगको भिडन्त पक्का गर्यो ।

इन्टरकन्टिनेन्टल प्ले अफ तर्फ अष्ट्रेलियाले उत्तरी, मध्य अमेरिकी तथा क्यारिबियन (कन्काफ) छनौटतर्फ चौथो स्थानमा रहेको होण्डुरसँग पहिलो लेग ६ नोभेम्बरमा खेल्नेछ भने १४ नोभेम्बरमा दोस्रो लेग खेल्नेछ ।

अष्ट्रेलिया र सिरियाबीचको दोस्रो लेगको हाईलाईट भिडियो हेर्नुहोस:

 


प्रतिक्रिया दिनुहोस

Loading...