फ्रान्स र युरो च्याम्पियन पोर्चुगल विश्वकपका लागि छनौट

बेलारुसविरुद्ध जित हात पार्दै विश्वकपका लागि सोझै छनौट भएपछि फ्रान्सका खेलाडीहरु समर्थकलाई अभिवादन फर्काउँदै । (तस्विर एजेन्सी)

एजेन्सी । आगामी वर्ष हुने रसिया विश्वकपको युरोपियन छनौट अन्तरगत दुई बलिया टोली फ्रान्स र युरो विजेता पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

समूह ए मा रहेको फ्रान्सले मंगलबार राती अन्तिम खेलमा बेलारुसलाई २–१ ले पराजित गर्दै रसिया विश्वकपको टिकट काट्न सफल भयो ।

सोही समूहको अर्को खेलमा लक्जेम्बर्गले बुल्गेरियासँग १–१ गोलको बराबरी खेल्यो भने नेदरल्याण्डले स्वीडेनलाई २–० ले हरायो ।

जितसँगै १० खेलबाट २३ अंक जोड्दै शिर्ष स्थानमा रहेर फ्रान्सले विश्वकपको यात्रा तय गर्यो । सोही समूहको दोस्रो स्थानमा रहेको स्वीडेनले भने प्ले अफ खेल्नेछ ।

मंगलबार जितका बावजुद नेदरल्याण्ड समूह ए को तेस्रो स्थानमा रहँदै छनौट चरणबाटै बाहिरिएको छ । समान १९–१९ अंक जोडे तापनि हेड टु हेडका आधारमा स्वीडेनले दोस्रो स्थानमा रहँदै प्ले अफका लागि छनौट हुन सफल भयो ।

स्वीजरल्याण्डलाई हराउँदै विश्वकपका लागि छनौट भएपछि समर्थकलाई अभिवादन फर्काउँदै पोर्चुगलका खेलाडीहरु । (तस्विर एजेन्सी)

त्यसैगरी समूह बी तर्फ युरो च्याम्पियन पोर्चुगलले महत्वपूर्ण मानिएको खेलमा स्वीजरल्याण्डलाई २–० ले हराउँदै रसिया विश्वकपको यात्रा तय गर्न सफल भयो ।

सोही समूहको अन्य खेलमा लात्भियाले एण्डोरालाई ४–० ले हरायो भने हँगेरीले फारोइ आइल्याण्डलाई १–० ले पराजित गर्यो ।

मंगलबारको नतिजासँगै समान २७–२७ अंक जोडे तापनि पोर्चुगलले हेड टु हेडका आधारमा स्वीजरल्याण्डलाई पछि पार्दै शिर्ष स्थानमा रहेर विश्वकपका लागि सोझै छनौट हुन सफल भयो । उता स्वीजरल्याण्डले भने अब प्ले अफ खेल्नेछ ।

त्यस्तै युरोपियन छनौट कै समूह एच तर्फ विश्वकपमा छनौट भईसकेको बेल्जियमले साइप्रसलाई ४–० ले हरायो । बोस्निया एण्ड हर्ज गोभिनाले इस्टोनियालाई २–१ ले पराजित गर्यो भने ग्रीसले जिब्राल्टरलाई ४–० ले पराजित गर्यो । समूह एच बाट ग्रीस प्ले अफका लागि छनौट भएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...