मेसीको ह्याट्रिकसहित अर्जेन्टिना विश्वकपमा छनौट (भिडियो सहित)

इक्वेडरविरुद्ध गोल गरेपछि मेसी । (तस्विर एजेन्सी)

एजेन्सी । स्टार फरवार्ड लियोनल मेसीले निर्णायक खेलमा ह्याट्रिक गरेपछि विश्वकपको छनौट चरणबाटै बाहिरिने संंघारमा पुगेको अर्जेन्टिना विश्वकपका लागि सोझै छनौट भएको छ ।

इक्वेडरको घरेलु मैदानमा भएको उक्त निर्णायक खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो ।

खेलमा मेसीले खेलको १२, २६ र ६२ औं मिनटमा गोल गर्दै क्यारियरको ४४ औं ह्याट्रिक मात्र पूरा गरेनन् बरु अर्जेन्टिनालाई कठिन मोडमा विश्वकपसम्म पुराउन नायकीय भूमिका समेत निर्वाह गरे ।

उता इक्वेडरका लागि एक मात्र सान्त्वना गोल खेलको पहिलो मिनटमै रोमारियो इबाराले गरेका थिए ।

जितसँगै १८ खेलबाट २८ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनौट तालिकाको तेस्रो स्थानमा रहँदै रसिया विश्वकपका लागि सोझै छनौट भएको छ ।

दक्षिण अमेरिकी छनौट अन्तरगत भएका अन्य खेलहरुमा ब्राजीलले चिलीलाई ३–० ले हराएको छ भने भेनेजुएलाले पाराग्वेलाई १–० ले पराजित गरेको छ ।

त्यसैगरी कोलम्बिया र पेरुले १–१ गोलको बराबरी खेलेको छ भने उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो ।

मंगलबारको खेलसँगै दक्षिण अमेरिकी विश्वकप छनौटका खेलहरु सम्पन्न भएका छन् । शिर्ष स्थानमा रहेको ब्राजील यसअघि नै छनौट भईसकेको छ भने उरुग्वे र कोलम्बियाले पनि रसिया विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

कोलम्बियासँग बराबरी खेलेको पेरुले न्युजिल्याण्डसँग प्ले अफ खेल्नेछ भने अलेक्सिस सान्चेज, आर्तुरो भिडाल जस्ता स्टार खेलाडी रहेको चिली छनौट चरणबाटै बाहिरिएको छ ।

इक्वेडरविरुद्ध यसरी गरे मेसीले ह्याट्रिक:


प्रतिक्रिया दिनुहोस

Loading...