
जर्मनीलाई हराउँदै नकआउट चरणमा प्रवेश गर्न सफल भएपछि इरानका खेलाडीहरु खुशी मनाउँदै । (तस्विर : फिफा)
एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दुई स्पष्ट जितका साथ एसियाली मुलुक इरान र दावेदार ब्राजील नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् ।
मंगलबार समूह सी मा रहेको इरानले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई शून्यकाविरुद्ध ४ गोलले पराजित गर्यो ।
जितसँगै २ खेलबाट ६ अंक जोडेको इरान शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो । पराजयका बावजुद समान खेलबाट ३ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ भने १–१ जोडेको कोस्टारिका र गुएना तेस्रो तथा चौथो स्थानमा छन् ।
उता समूह डी मा रहेको दावेदार ब्राजीलले उत्तर कोरियालाई २–० ले हराउँदै ६ अंक जोड्दै शिर्ष स्थानमा रहेर नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्यो ।
सोही समूहमा समान ३–३ अंक जोडेको स्पेन र नाइजर दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन उत्तर कोरिया पुछारमा रहेको छ ।