मेसीका लागि ३५९ मिलियन पाउण्ड तिर्न तयार छ सिटी

एजेन्सी । गत सिजन अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोनासँग सन् २०२१ सम्म नयाँ सम्झौता गरेको खबर बाहिर आएको थियो । यद्यपि यसबारे अहिलेसम्म आधिकारिक रुपमा ठोस निर्णय बाहिर आइसकेको छैन ।

त्यसपश्चात् अहिलेसम्म एउटै कुरा बाहिर आएको छ कि मेसीले क्लबसँग आधिकारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छैनन् । उता यहि हप्ता मात्रै बार्सिलोनाका हस्ती मिडफिल्डर आन्द्रेस इनिष्टाले क्लबसँग आजिवन सम्झौता गरेका थिए । तर बार्सिलोनामा मेसीको भविष्यबारे अहिलेसम्म स्पष्ट र ठोस निर्णय आइसकेको छैन ।

बार्सिलोनासँग मेसीको अनुबन्ध यहि सिजनको अन्त्यसम्म मात्र छ, तथापि उता क्लबका अफिसियलहरु भने मेसी नोउ क्याम्प मै रहने कुरामा ढुक्क छन् ।

हालै स्पेनी आउटलेट मार्काको दावी अनुसार अरब धनाढयहरुको स्वामित्वमा रहेको इङलिस क्लब म्यानचेष्टर सिटीले मेसीका लागि चर्को मूल्य तिर्न तयार रहेको बताएको छ । साथै सिटीले मेसीको प्रतिनिधीसँग कुरा समेत अगाडी बढाईसकेको दावी गरेको छ ।

सिटीका नजिकका पदाधिकारीहरुका अनुसार क्लबले मेसीको अति निकटतम व्यक्ति तथा प्रतिनिधिहरुसँग यसबारे छलफल समेत गरिसकेको छ ।

स्रोतका अनुसार यदि मेसीले सिटीमा अनुबन्धित हुन चाहेको खण्डमा क्लबले यी स्टार फरवार्डका लागि ३५९ मिलियन पाउण्ड तिर्न तयार रहेको बताईन्छ ।

यदि यो अनुबन्ध सफल भयो भने पिएसजीले हालै ब्राजिलियन स्टार नेयमारलाई अनुबन्ध गर्दा तिरेको २०० मिलियन पाउण्डको विश्वकिर्तिमान समेत तोडिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...