विश्वकपमा पोल्याण्डको ‘कमब्याक’

विश्वकपका लागि छनौट भएपछि खुशीयाली मनाउँदै पोल्याण्डका खेलाडी तथा अफिसियलहरु । (तस्विर एजेन्सी)

एजेन्सी । पोल्याण्डले आगामी बर्ष रसियामा हुने फिफा विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

विश्वकप छनौट अन्तरगत समूह ई मा रहेको पोल्याण्डले मोन्टेनेग्रोविरुद्ध ४–२ को सहज जितका साथ विश्वकपमा कमब्याक गर्न सफल भएको हो ।

सन् २००६ को जर्मनी विश्वकप पछि पोल्याण्डको यो पहिलो विश्वकप यात्रा समेत हो । समूह ई मै रहेको डेनमार्कले रोमानियासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप छनौटमा प्ले अफ मार्फत आफ्नो सम्भावना कायम राखेको छ ।

सोही समूहको अर्को खेलमा कजाखस्तान र अर्मेनियाले पनि १–१ गोलको बराबरी खेलेका छन् । यद्यपि यी दुवै टोली रोमानियाससिहत समूह चरणबाट बाहिरिसकेका छन् ।

जर्मनी र इङल्याण्डकोे अपराजित यात्रा

रसिया विश्वकपको युरोपियन छनौट अन्तरगत दुई बलिया टोली जर्मनी र इङल्याण्डले आफ्नो अपराजित यात्रालाई कायम राख्दै विश्वकप छनौटको यात्रालाई समाप्त गरेका छन् ।

समूह सी तर्फ अन्तिम खेलमा अन्तिम चरणका लागि छनौट भईस्केको जर्मनीले अजरबैजानलाई ५–१ ले हरायो भने चेक गणतन्त्रले सान मेरिनोलाई ५–० गोल अन्तरले पराजित गर्यो । उता उत्तरी आयरल्याण्ड भने नर्वेसँग १–० गोल अन्तरले पराजयका बावजुद प्ले अफका लागि छनौट भएको छ ।

त्यसैगरी समूह एफतर्फ इङल्याण्डले आफ्नो अन्तिम खेलमा लिथुआनियालाई १–० ले पराजित गरेको छ । इङल्याण्ड विश्वकपका लागि यसअघि नै छनौट भईसकेको छ । त्यस्तै स्लोभाकियाले माल्टालाई ३–० ले पराजित गर्यो र प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्यो ।

त्यस्तै स्लोभेनियासँग २–२ गोलको बराबरी खेलेको स्कटल्याण्डको विश्वकप यात्रा समूह चरणबाटै समाप्त भएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...