पेरिस जान सान्चेजलाई मेसीको सुझाव !

मेसी (बाँया) तथा सान्चेज (दाँया) ।

एजेन्सी । चिलीका स्टार फरवार्ड अलेक्सिस सान्चेज हाल इङलिस क्लब आर्सनलमा आफ्नो भविष्यलाई लिएर निकै सोंचमा छन् ।

सान्चेजको आर्सनलसँगको सम्झौता यो सिजनको अन्त्यसँगै समाप्त हुँदैछ । गत समर ट्रान्सफर विन्डोको अन्तिम दिन उनी म्यानचेष्टर सिटीमा अनुबन्ध हुने करिब नजिक पुगेका थिए ।

तर आर्सनलले थोमस लेमारलाई क्लबमा भित्राउन असफल भएपछि सान्चेजको सिटी अनुबन्ध पनि तत्कालका लागि बन्द भएको थियो ।

यद्यपि हाल आएर सान्चेजलाई अनुबन्ध गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) अगाडी सरेको छ । पिएसजीसँग यसअघि नै नेयमार र किलियन म्बाप्पेजस्ता स्टार फरवार्डको साथ छ ।

स्पेनी आउटलेट डन बालोनको दावी अनुसार बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले सन्चेजलाई फ्रान्स जान सुझाव दिएका छन् । सन् २०११ देखि १४ सम्म बार्सिलोनामा सँगै रहँदा यी दुई स्टार खेलाडीबीच हालसम्म पनि राम्रो सम्बन्ध रहेको बताईन्छ ।

बार्सिलोनामा रहँदासम्म विंगरका रुपमा खेलेका सान्चेजले आर्सनल आए लगतै सेन्टर फरवार्डमा खेल्न थालेका थिए ।

स्रोतका अनुसार मेसीलाई यो पनि थाहा छ कि सान्चेज अन्य जुनै क्लबमा गए तापनि उनी फेरि बार्सिलोनामा भने फर्कने छैनन् ।

यहि कारणले गर्दा पनि मेसीले सान्चेजलाई पेरिस जान सुझाव दिएको बताईन्छ । जहाँ नेयमार, म्बाप्पे र काभानीसँगै मिलेर संसारकै उत्कृष्ट मध्ये एक फरवार्ड लाईन बन्न सक्नेछ ।

सन् २०१४ मा बार्सिलोनाबाट आर्सनलमा अनुबन्ध भएका सान्चेजले क्लबका लागि १०८ खेलमा ५३ गोल गरिसकेका छन् । उता आर्सनलले सान्चेजको भविष्यबारे हालसम्म आधिकारिक रुपमा केही बोलेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...