रेमोस २०२१ सम्म मेड्रिड मै रहने !

सर्जियो रेमोस । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनीस र युरोपियन च्याम्पियन रियल मेड्रिडका कप्तान सर्जियो रेमोसले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नयाँ सम्झौता अनुसार ३१ वर्षिय रेमोस अब सन् २०२१ सम्म बर्नबेयु मै रहने छन् । रियलका लागि एक से एक उपाधि जितेका रेमोस सन् २००५ मा सेभिल्लाबाट मेड्रिडमा आएका थिए ।

बितेका केही वर्षमा रियलले जितेको चार ला लिगा उपाधि, तीन च्याम्पियन्स लिग उपाधि र दुई कोपा डेल रे को उपाधि जित्दा टोलीमा रेमोसको भूमिका अहम रहेको थियो ।

यसका साथै यी आक्रमक डिफेन्डरले स्पेनलाई सन् २०१० मा विश्वकप फुटबलको उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै सन् २००८ र २०१२ मा स्पेनले प्रतिष्ठित युरो कप जित्दा पनि रेमोस स्पेनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

यसक्रममा उनले क्लब र देश दुवैका लागि कप्तानी भूमिका समेत निर्वाह गरेका छन् । स्पेनी मिडियाहरुका दावीअनुसार रेमोसले क्लबसँग आफ्नो नयाँ अनुबन्ध गर्न गोप्य रुपमा गत वर्ष नै राजी भईसकेका थिए ।

रेमोस र रियलका अध्यक्ष फ्लोरेन्ट पेरेजले यस नयाँ अनुबन्धबारे छिटै सार्वजनिक रुपमा घोषणा गर्ने बताइएको छ ।

स्रोतका अनुसार यो नयाँ सम्झौता अनुसार रियलमा क्रिष्टियानो रोनाल्डो र गारेथ बेलपछि सबैभन्दा बढी रकम पाउने खेलाडी रेमोस भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...