पोर्चुगल र फ्रान्सको सम्भावना कायमै

एन्डोराविरुद्ध गोल गरेपछि पोर्चुगलका स्टार फरवार्ड रोनाल्डो । (तस्विर एजेन्सी)

एजेन्सी । आगामी बर्ष हुने रसिया विश्वकपका लागि दुई बलिया टोली पोर्चुगल र फ्रान्सले आ–आफ्नो समूहबाट छनौट हुने सम्भावना कायम राखेका छन् ।

समूह बी मा रहेको पोर्चुगलले एन्डोरालाई २–० ले हरायो । पोर्चुगलको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको ६३ औं पहिलो गोल गरे ।

त्यस्तै ८६ औं मिनटमा आन्द्रे सिल्वाले पोर्चुगिज टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

उता समूह बी मै रहेको स्वीजरल्याण्डले हंगेरीलाई ५–२ ले पराजित गर्दै २७ अंकका साथ शिर्ष स्थानमा छ । २४ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ र विश्वकपमा सोझै छनौट हुनका लागि उसले स्वीस टोलीविरुद्ध निश्चित जित हात पार्नुपर्नेछ ।

समूह बी कै अर्को खेलमा छनौट चरणबाट बाहिरिसकेका फारोई आइल्याण्ड र लात्भियाले गोलरहित बराबरी खेलेका छन् ।

फ्रान्सको सम्भावना बलियो

विश्वकपको युरोपियन छनौट अन्तरगत नै समूह ए मा रहेको फ्रान्सले बुल्गेरियालाई १–० ले हराउँदै आफ्नो सम्भावना बलियो बनाएको छ ।

समूह ए मा २० अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । समूह ए कै अन्य खेलमा स्वीडेनले लक्जेम्बर्गलाई ८–० ले फराकिलो अन्तरले हराउँदै उसले पनि आफ्नो विश्वकप छनौटको सम्भावना कायम राखेको छ । अंक तालिकामा १९ अंक जोड्दै स्वीडेन दोस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा नेदरल्याण्डले बेलारुसलाई ३–१ ले हरायो ।

त्यसैगरी समूह एच तर्फ विश्वकपका लागि छनौट भईसकेको बेल्जियमले बोस्निया एण्ड हर्जगोविनालाई ४–३ ले हराएको छ । इस्टोनियाले जिब्राल्टरलाई ६–० ले पराजित गर्यो भने ग्रीसले साइप्रसविरुद्ध २–१ को जित दर्ता गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...