पूर्व विश्वविजेता स्पेन विश्वकपका लागि छनौट

स्पेनका खेलाडीहरु गोल गरेपछि खुशी मनाउँदै । (तस्विर : एजेन्सी)

एजेन्सी । पूर्व विश्वविजेता स्पेनले शुक्रबार राती अल्बानियालाई हराउँदै आगामी वर्ष हुने रसिया विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

समूह जी मा रहेको स्पेनले अल्बानियालाई ३–० ले हराउँदै विश्वकपका लागि छनौट भएको हो । स्पेनको जितमा खेलको १६ औं मिनटमा रोड्रिगोले सुरुवाती गोल गरे भने २४ औं मिनटमा इस्कोले दोस्रो गोल गरे ।

पहिलो हाफ मै तीन गोल गरेको स्पेनका लागि थियागोले २७ औं मिनटमा तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समूह जी बाट ९ खेलमा २५ अंक जोडेको स्पेन शिर्ष स्थानमा छ । त्यस्तै २० अंकका साथ दोस्रो स्थानमा रहेको इटालीले शुक्रबार राती मेसिडोनियासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप छनौटको सम्भावनालाई कायम राखेको छ ।

समूह जी अर्को खेलमा इजरायलले लिचेस्टाईनलाई शून्यकाविरुद्ध १ गोलले पराजित गरेको छ । इजरायल, लिचेस्टाईन, मेसिडोनिया र अल्बानिया छनौट चरणबाट बाहिरि सकेका छन् ।

वेल्स र आइसल्याण्डको सम्भावना कायमै

शुक्रबार राती नै भएका विश्वकपको युरोपियन छनौट अन्तरगत समूह डी मा वेल्सले जर्जियालाई १–० ले हराउँदै विश्वकप छनौटको सम्भावना कायम राखेको छ ।

समूह डी कै अन्य खेलमा अष्ट्रियाले सर्बियालाई ३–२ ले हराएको छ भने आयरल्याण्डले माल्डोभालाई २–० ले पराजित गरेको छ ।

त्यसैगरी समूह आई तर्फ आइसल्याण्डले टर्कीलाई ३–० हराउँदै विश्वकप छनौटको सम्भावना बलियो बनाएको छ । सो समूहको अन्य खेलमा युक्रेनले कोसोभोलाई २–० ले हराएको छ भने फिनल्याण्ड र क्रोएसियाले १–१ गोलको बराबरी खेलेका छन् ।

समूह डी र आई बाट विश्वकपमा छनौट हुने शिर्ष टोलीको निर्णय अन्तिम खेलबाट नै हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...