प्रिमियर लिगको गोलस्कोरिङ किर्तिमान तोड्न सक्छन् लुकाकु

रोमेलु लुकाकु । (तस्विर एजेन्सी)

एजेन्सी । इभर्टनबाट म्यानचेष्टर युनाइटेड आएका रोमेलु लुकाकुले युनाइटेडका लागि सबै स्पर्धामा गरेर हालसम्म १० गोल गरिसकेका छन् ।

नयाँ सिजनको सुरुवातबाटै उत्कृष्ट लयमा रहेका यी बेल्जियन फरवार्डले युनाइटेडका लेजेण्ड एन्डी कोलको किर्तिमानको बराबरी गरिसकेका छन् । हाल लुकाकुले कोलको अर्को किर्तिमान तोड्ने प्रयासमा छन् ।

लुकाकुले युनाइटेडका लागि यस नयाँ सिजनमा खेलेका ७ खेलमा सात गोल गर्दै जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा छन् ।

यससँगै लुकाकुले यसअघि युनाइटेडका लागि एण्डी कोलले सात खेलमा गरेको ७ गोलको किर्तिमानको बराबरी गर्न सफल भएका छन् ।

लुकाकुले गत शनिबार प्रिमियर लिगमा क्रिष्टल प्यालेसविरुद्ध गोल गर्दै ६ फरक–फरक टोलीविरुद्ध गोल गर्न सफल भएका छन् । साथै अब उनले प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने किर्तिमानलाई पछ्याईरहेका छन् ।

सन् १९९३–९४ मा एन्डी कोलले न्यक्यासल युनाइटेडबाट खेल्दा २६ फरक–फरक म्याचमा गोल गरेका थिए भने सन् १९९४–९५ मा एलन शिएररले ब्ल्याकबर्न रोवर्सबाट खेल्दा २४ फरक–फरक म्याचमा गोल गर्न सफल भएका थिए ।

यद्यपि त्यतिबेला प्रिमियर लिगमा अहिलेको जस्तो २० टिम नभएर सो भन्दा बढी टिमहरु हुने गर्दथे ।

३८ म्याचको सिजनमा सबैभन्दा बढी गोल गर्ने किर्तिमान भने क्रिष्टियानो रोनाल्डो र रोविन भान पर्सीको नाममा रहेको छ । दुवैले फरक–फरक २१ खेलमा गोल गरेका थिए ।

लुकाकुले यस सिजन केवल लिसेस्टर सिटीविरुद्ध गोल गर्नबाट चुकेका थिए । सो खेलमा उनको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक क्यास्पर स्माइकलले विफल तुल्याईदिएका थिए ।

यदि २४ वर्षिय लुकाकुको यो तथ्यांक र प्रदर्शनले निरन्तरता पाए उनले जारी २०१७–१८ सिजनतर्फ ३२ खेलमा गोल गर्न सफल हुनेछन् । जुन रोनाल्डो र पर्सीको भन्दा ११ खेल बढी समेत हो ।

म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १४ अक्टुबरका दिन लिभरपुलसँग उसकै घरेलु मैदानमा खेल्दैछ । जहाँ यी बेल्जियन फरवार्ड आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...