केनको निर्णायक गोलसँगै इङल्याण्ड वश्वकपका लागि छनौट

स्लोभेनियाविरुद्ध निर्णायक गोल गरेपछि इङल्याण्डका कप्तान हेरी केन । (तस्विर एजेन्सी)

एजेन्सी । कप्तान हेरी केनको एकमात्र निर्णायक गोलसँगै इङल्याण्डले आफ्नो समूहबाट रसिया विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बिहीबार राती समूह एफ तर्फ भएको खेलमा इङल्याण्डले स्लोभेनियालाई १–० ले हराउँदै रसिया विश्वकपको टिकट काट्न सफल भएको हो ।

घरेलु मैदान वेम्बले स्टेडियममा भएको उक्त खेलमा इङल्याण्डका लागि इन्जुरी समयमा एकमात्र गोल हेरी केनले गरे ।

समूह एफ कै अन्य खेलहरुमा स्कटल्याण्डले स्लोभाकियालाई १–० ले हराएको छ भने माल्टा र लिथुआनियाले १–१ गोलको बराबरी खेलेका छन् ।

जर्मनी पनि विश्वकपका लागि छनौट

उता साविक विजेता जर्मनी पनि विश्वकपका लागि छनौट भएको छ । समूह सी मा रहेको जर्मनीले बिहीबार उत्तरी आयरल्याण्डलाई ३–१ ले हराउँदै विश्वकपको यात्रा तय गर्न सफल भयो ।

समूह सी कै अन्य खेलहरुमा चेक गणतन्त्रले अजरबैजानलाई २–१ ले हरायो भने नर्वेले सान मारिनोलाई ८–० को फराकिलो अन्तरले पराजित गर्यो ।

पोल्याण्ड र डेनमार्ककको सम्भावना कायमै

त्यसैगरी समूह इ तर्फ पोल्याण्ड र डेनमार्कले पनि विश्वकप छनौटमा आफ्नो सम्भावना कायम राखेका छन् ।

बिहीबार नै सम्पन्न समूह इ तर्फको खेलमा पोल्याण्डले अर्मेनियालाई ६–१ को फराकिलो अन्तरले हराउँदै २२ अंक जोड्दै शिर्ष स्थानमा छ ।

त्यस्तै मोन्टेनेग्रोलाई ०–१ ले हराएको डेनमार्क १९ अंकका साथ दोस्रो स्थानमा छ । समूह इ तर्फ नै रोमानियाले कजाखस्तानलाई ३–१ ले हराएको छ । यद्यपि यी दुवै टोली छनौट चरणबाटै बाहिरिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...