रोनाल्डोले बताए म्यानचेष्टर युनाइटेड छोड्नुको कारण

एजेन्सी । रियल मेड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सन् २००९ मा इङलिस क्लब म्यानचेष्टर युनाइटेड छाड्नुको कारण बताएका छन् ।

आठ वर्ष अघि ओल्ड ट्राफोर्ड छाड्दै सान्टियागो बर्नबेउमा जाँदा रोनाल्डो विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

युनाइटेडमा ६ सिजन बिताएका रोनाल्डोले सो अवधिमा ९ उपाधि जितेका थिए । त्यस्तै २९२ खेलमा ११८ गोल समेत गरेका थिए । उता स्पेनमा आफ्नो प्रदर्शनलाई थप सुधार्दे रोनाल्डोले ४०१ खेलमा ४११ गोल गरिसकेका छन् ।

रोनाल्डोले सन् २००८ मै रियल मेड्रिडसँग अनुबन्धित हुने प्रक्रिया नजिक पुगेका थिए । यद्यपि युनाइटेडले उनलाई थप १२ महिना ओल्ड ट्राफोर्ड मै राख्न सफल भएको थियो ।

रोनाल्डो भन्छन् “मलाई लाग्थ्यो मलाई आफ्नो क्षमता देखाउनु छ । म अन्य खेलाडीभन्दा फरक र विशेष छु भनेर प्रमाणित गर्नुथियो । जुन मैले प्रमाणित गर्न पनि सफल भएँ । मेरो पहिलो सिजन उत्कृष्ट रह्यो र मैले क्रमिक रुपमा आफ्नो प्रदर्शनलाई सुधार्दै लगें ।”

१८ वर्षको उमेरमा पोर्चुगिज क्लब स्र्पोटिङ लिस्वोनबाट युनाइटेडमा अनुबन्धित भएपछि रोनाल्डोले भनेका थिए “मेरो सपना दिन प्रतिदिन ठूलो हुँदै गईरहेको छ । म राष्ट्रिय टोली र म्यानचेष्टर युनाइटेडबाट खेल्न चाहन्थे । म सधै टिभीमा प्रिमियर लिग हेर्ने गर्दथे ।

प्रिमियर लिगबाट म विशेष रुपमा प्रभावित थिएँ । म म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुँदा मेरो परिवारले पनि गर्वको महशुस गरेको थियो ।

सुरुवातमा उपाधि जित्दा म धेरै भावुक भएको थिएँ । म्यानचेष्टर युनाइटेडबाट पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्नु मेरो लागि विशेष थियो ।

तर मेरो सपना ठूलो हुँदै गयो । म मेड्रिडतर्फ आकर्षित हुन थालें । मलाई एउटा नयाँ चुनौति आवश्यक थियो । मँ मेड्रिडमा ट्रफी जित्न, किर्तिमान तोड्न र लेजेण्ड बन्न चाहन्थें ।”

 

 


प्रतिक्रिया दिनुहोस

Loading...