विश्वकप छनौट अन्तरगत स्पेनी टोलीमा छैनन् मोराटा र इनिष्टा

स्पेनी राष्ट्रिय फुटबल टोलीको जर्सीमा मोराटा (बाँया) तथा इनिष्टा (दाँया) ।

एजेन्सी । विश्वकप छनौट अन्तरगत अल्बानियाविरुद्ध खेल्ने स्पेनी टोलीमा चर्चित फरवार्ड अल्भारो मोराटा र मिडफिल्डर आन्द्रेस इनिष्टा परेका छैनन् ।

शुक्रबार समूह जी तर्फ अल्बानियाविरुद्ध खेल्ने स्पेनी टोलीमा चोटका कारण डिफेन्डर डानी कार्वाहल पनि परेका छैनन् ।

मोराटा र इनिष्टा मांशपेशीको चोटका कारण तथा कार्वाहाल मुटुमा देखिएको समस्याका कारण अल्बानियाविरुद्ध खेल्न नसकेका हुन् ।

इनिष्टा आइतबार स्पेनीस ला लिगा अन्तरगत लास पाल्मासविरुद्ध खेल्ने क्रममा घाइते हुन पुगेका थिए । उनी कम्तीमा पनि १० दिनका लागि मैदान बाहिर रहने निश्चित छ ।

उता मोराटा भने प्रिमियर लिग अन्तरगत शनिबार म्यानचेष्टर सिटीविरुद्ध खेल्ने क्रममा चोटिल बन्न पुगेका थिए । चेल्सीका म्यानेजर एन्टोनियो कोन्टेले मोराटा लामो समयसम्मका लागि मैदानबाहिर बस्न नपर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्वाहाल भने इस्पान्योलविरुद्ध खेलका क्रममा उनको मुटुमा समस्या देखिएको थियो । यद्यपि रियल मेड्रिडका व्यवस्थापक जिनेदिन जिदानका अनुसार कार्वाहालको समस्या सामान्य रहेको बताएका छन् । तर कार्वाहाल कति दिनका लागि मैदान बाहिर रहने छन् त्यो भने उनले बताएनन् ।

विश्वकप छनौट अन्तरगत अल्बानियाविरुद्ध खेले लगतै सोमबार स्पेनले इजरायलविरुद्ध जेरुसेलममा उसकै घरेलु मैदानमा भिड्ने छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...