स्वतन्त्र क्याटलोनियाका लागि स्पेनको राष्ट्रिय फुटबल टोली छोड्न तयार छन् पिके

स्पेनको राष्ट्रिय जर्सीमा जेरार्ड पिके । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनिस ला लिगा अन्तरगत आइतबार राती बार्सिलोनाले लास पाल्मासलाई ३–० हराउँदा उसको घरेलु मैदान नोउ क्याम्प दर्शकविहीन खाली थियो । सोही खेल पश्चात् बार्सिलोनाका रक्षक जेरार्ड पिकेले त्यसलाई कठिन खेल भन्दै प्रतिक्रिया दिएका थिए ।

पिके भन्छन् “मलाई लाग्छ, म निरन्तरता दिन सक्छु । तर यदि वास्तवमा बोर्डलाई म नै समस्या हुँ जस्तो लाग्छ भने म एक कदम पछि हट्दै आउँदौ २०१८ को विश्वकप अगाडी नै स्पेनको राष्ट्रिय फुटबल टोली छोड्न तयार छु । हिंजो (आइतबार) जे भयो त्यो गलत थियो । यस कुराले स्पेनमा धेरै मानिसहरु दुखी भएका छन् र उनीहरु गणतन्त्रमा विश्वास राख्छन् ।”

उत्तर–पूर्वी स्पेनमा रहेको क्याटलोनियामा करिब ७५ लाख जनसंख्या रहेको छ । जसको आफ्नै सँस्कृति र भाषा छ । साथै बार्सिलोना यसको राजधानी समेत हो । यद्यपि स्पेनीस संविधानमा यसलाई अलग देशको मान्यता दिइएको छैन ।

पिकेले स्पेनका लागि ९१ खेल खेलेका छन् तर क्याटलोनियाको स्वतन्त्रतालाई लिएर दिएको उनको प्रतिक्रियाका कारण उनी सबैको नजरमा परेका छन् ।

स्पेनको दक्षिण–पूर्वमा रहको मर्सिया शहरमा गत जुनमा सम्पन्न कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलपश्चात् स्वतन्त्र क्याटलोनियाको विरोध गर्नेहरुले पिकेलाई गिज्याएका थिए ।

आइतबार लास पाल्मासविरुद्ध खेल्नुअघि पिकेले सामाजिक संजालमा एउटा फोटो पोष्ट गर्दै लेखेका थिए “मैले त भोट गरिसकें । हामी सबै मिलेर डेमोक्रेसीको सुरक्षा गर्नुपर्छ । स्पेनीस सरकारले पोललाई अवैध घोषित गरेको थियो र यसलाई उनीहरु जसरी भए पनि रोक्न चाहन्थे । तर फलस्वरुप विरोध हिंसात्मक बन्न पुग्यो ।”

पिकेले अगाडी भनेका छन् “बोर्डले उक्त खेललाई स्थगित गर्ने प्रयास गर्यो जुन सम्भव थिएन । हामीले यसबारे कुरा राखेका थियौं तर क्लबले जसरी पनि खेल्ने निर्णय गर्यो । म क्याटलन हो र म यो महशुस गर्छु । आज (आइतबारर) त बिगतमा भन्दा धेरै महशुस गरें । क्याटलोनियाका मानिसहरुको व्यवहारप्रति मलाई गर्व छ । वोटिङ गर्नु एउटा अधिकार हो र यसलाइै जसरी पनि जोगाई राख्नुपर्छ ।”

पिकेका अनुसार आइतबारको घट्नापछि स्पेनमा राजनैतिक अस्थिरता अझै बढ्ने छ । उनले भनेका छन् “एकछिनका लागि त मलाई यसमा विश्वास लागेन । मलाई लाग्थ्यो उनीहरु मतदानलाई रोक्ने प्रयास त गर्नेछन् तर शान्तिपूर्ण रुपमा गर्नेछन् । यद्यपि त्यस्तो हुन सकेन तर यसलाई पूरै विश्वले देख्यो । यो निर्णयले वर्तमान अवस्थालाई झन खराब बनाईदिएको छ । यो मुलुकुले विगत ४०–५० वर्ष यता लिएको सबैभन्दा खराब निर्णय हो ।”


प्रतिक्रिया दिनुहोस

Loading...