रियल मेड्रिडलाई रोनाल्डाको यस्तो धम्की !

(तस्विर : एजेन्सी)

एजेन्सी । स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले कर छलीको मुद्दामा आफू दोषी ठहरिए त्यसको सबै जरिवाना रकम रियल मेड्रिडले तिनुपर्ने बताएका छन् । र यदि क्लबले त्यसो नगरेमा उनले बर्नबेउ छोड्ने धम्की समेत दिएका छन् ।

केही महिना अघि मात्र कर छलीको मुद्दामा फँसेका रोनाल्डोले स्पेनी अदालतमा उपस्थित भएर आफूलाई लागेको आरोपलाई अस्वीकार समेत गरेका थिए ।

चर्चित स्पेनी आउटलेट डन बालोनका अनुसार रोनाल्डोले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई भेटेर कुराकानी समेत गरेका छन् । रोनाल्डोले पेरेज समक्ष माग राखेका छन् कि यदि कर छलीको आरोपमा उनले तिर्नुपर्ने जरिवाना क्लबले नबुझाए उनले रियल मेड्रिड छाड्ने छन् ।

रोनाल्डोले कर छलेको आरोपमा १३ मिलियन पाउण्ड तिर्नुपर्ने बताइएको छ । जुन उनले क्लबले तिर्नुपर्ने अडान राखेका छन् ।

यस सिजनको सुरुवात मै रियलमा रोनाल्डोको भविष्यलाई लिएर थुप्रै अड्कलबाजी हुन थालेको थियो । पोर्चुगिज मिडियाहरुले त रोनाल्डोले स्पेन छाडेर अन्य क्लबमा अनुबन्ध हुने समेत बताएको थियो । उता अदालतमा पनि रोनाल्डोले आफू फेरि इङल्याण्ड फर्कन चाहेको बताएका थिए ।

स्पेनी सुपर कप अन्तरगत रेफ्रिलाई धकेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध भोगेर मैदानमा फर्किएका रोनाल्डोले च्याम्पियन्स लिग अन्तरगत मंगलबार राती बोरुशिया डर्टमुण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल समेत गरेका थिए ।

यद्यपि उनलाई यस नयाँ सिजनको ला लिगामा अझै आफ्नो खेल कौशल देखाउन बाँकी नै छ । फिलहाल ला लिगाको शिर्ष स्थानमा बार्सिलोना रहेको छ भने रियल बार्सा भन्दा ७ अंकले पछि छ ।

स्मरणीय छ, समर ट्रान्सफर विन्डोमा रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा जाने हल्लाले खुबै चर्चा पाएको थियो । तर पछि पिएसजीले विश्वकिर्तिमानी रकममा नेयमारलाई अनुबन्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...