दुबईमा मेटियो अष्ट्रेलियाको दशक बढीको तिर्खा

काठमाडौं (एजेन्सी) । आइसीसी टि–२० क्रिकेट विश्वकपले अष्ट्रेलियालाई नयाँ च्याम्पियनका रुपमा पाएको छ । आइतबार राती सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टि–२० विश्वकपको उपाधि जित्न पनि सफल भएको हो ।

अष्ट्रेलियाले १४ बर्षपछि टि–२० विश्वकपको उपाधि जितेको हो । यसअघि सन् २०१० को संस्करणमा पनि अष्ट्रेलिया फाइनलमा पुगेको थियो । वेस्ट इण्डिजमा भएको सो फाइनल भिडन्तमा अष्ट्रेलियाले इङल्याण्डसँग ७ विकेटको हार बेहोर्न पुगेको थियो ।

दुबई इन्टरनेशनल क्रिकेट ग्राउण्डमा टस जित्दै पहिलो फिल्डिङ रोजेको अष्ट्रेलियाले न्युजिल्याण्डलाई निर्धारित २० ओभरमा १७२ रन बनाउन दियो । न्युजिल्याण्डका लागि केन विलियमसनले सर्वाधिक ८५ रनको योगदान दिए ।

उता अष्ट्रेलियाले भने १८.५ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाउँदै जित हात पारेको थियो । अष्ट्रेलियाको जितमा प्लेयर अफ द म्याच घोषित मिचेल मार्शले नटआउट ७७ रनको पारी खेले । ओपनर डेविड वार्नरले पनि महत्वपुर्ण ५३ रनको योगदान दिए ।

वार्नर प्लेयर अफ द सिरिज समेत घोषित भए । प्रतियोगिताभरि सर्वाधिक रन भने पाकिस्तानका बाबर आजमले बनाएका थिए । आजमले ६ म्याचमा कुल ३०३ रन बटुलेका थिए । त्यस्तै सर्वाधिक विकेट लिनेमा भने श्रीलंकाका वानिन्दु हसरंगा रहे । उनले कुल १६ विकेट आफ्नो नाममा लेखाए ।

स्मरण रहोस, प्रतियोगिताको आगामी संस्करण अष्ट्रेलियाले नै आयोजना गर्दैछ । जहाँ कंगारुलाई घरेलु मैदान मै विश्वकपको उपाधि रक्षा गर्ने चुनौति पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...