इतिहास उल्टाउन फेरि असफल पाकिस्तान

काठमाडौं (एजेन्सी) । विश्वकप क्रिकेटको इतिहासमा नकआउट चरणमा अष्ट्रेलिया विरुद्ध कहिल्यै जित हात पार्न नसकेको पाकिस्तानले बिहीबार त्यहि इतिहासलाई उल्टाउन सकेन ।

जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा पूर्ण हावी बनेर पनि पाकिस्तान फाइनलमा पुग्नबाट बञ्चित बन्न पुग्यो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियासँग ५ विकेटले हार्न पुगेपछि पाकिस्तान फाइनल पुग्नबाट बञ्चित बनेको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ६७ रन बनाए ।

तर जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाउँदै जित हात पारेको थियो । अष्ट्रेलियालाई रोमाञ्चक जित दिलाउन नटआउट ४१ रनको अहम पारी खेलेको म्याथ्यु वेड प्लेयर अफ द म्याच चुनिए ।

अब अष्ट्रेलियाले फाइनलमा १४ नोभेम्बरका दिन न्युजिल्याण्डसँग उपाधिका लागि भिड्ने छ । स्मरण रहोस, न्युजिल्याण्डले पनि इङल्याण्डलाई बुधबार भएको पहिलो सेमिफाइनलमा समान ५ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...