ऐतिहासिक सफलतामा रमाएको न्युजिल्याण्ड

काठमाडौं (एजेन्सी) । क्रिकेट विश्वकपमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि उपाधि विहीन बन्ने न्युजिल्याण्डलाई अन्तर्राष्ट्रिय क्रिकेटमा अभागी टोलीका रुपमा पनि चिनिन्छ । तर त्यहि न्युजिल्याण्ड यसपटक युएईमा भइरहेको आइसीसी टि–२० क्रिकेट विश्वकपको फाइनलमा पहिलोपटक प्रवेश गर्न सफल भएको छ ।

समग्रमा आइसीसीले आयोजना गर्ने प्रतियोगितामा न्युजिल्याण्डको यो लगातार तेस्रो फाइनल पनि हो । यसअघि सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनल खेलेको किवीजले त्यसपछि यसै बर्ष सम्पन्न आइसीसी टेष्ट च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो ।

न्युजिल्याण्डले बुधबार भएको पहिलो सेमिफाइनलमा इङल्याण्डलाई ५ विकेटले हरायो । साथै यो जितसँगै न्युजिल्याण्डले एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा बेहोरेको हारको बदला पनि इङल्याण्डसँग लिन सफल भयो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको न्युजिलयाण्डले इङल्याण्डलाई निर्धारित २० ओभरमा १६६ रन बनाउन दियो । जवाफी लक्ष्य पछ्याएको न्युजिल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाउँदै जित हात पार्यो । खेलमा न्युजिल्याण्डका लागि नाबाद ७२ रन बनाएर टोलीको जितको आधार तयार पारेका डेरिल मिचेल प्लेयर अफ द म्याच घोषित भए ।

न्युजिल्याण्डले अब फाइनलमा बिहीबार हुने पाकिस्तान र अष्ट्रेलिया बीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नोभेम्बर १४ तारीखका दिन दुबई स्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...