न्युजिल्याण्ड सेमिफाइनलमा, विजेता भारत र अफगानिस्तान ‘नकआउट’

काठमाडौं (एजेन्सी) । युएईमा जारी आइसीसी टि–२० क्रिकेट विश्वकपबाट पूर्व विजेता तथा दावेदार मानिएको भारत सुपर १२ राउण्डबाटै बाहिरिएको छ । आइतबार सुपर १२ तर्फ समूह २ को महत्वपूर्ण मानिएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएपछि प्रतियोगिताबाट भारतसँगै अफगानिस्तान पनि बाहिरिएको हो ।

अबुधाबीमा सम्पन्न खेलमा अफगानिस्तानले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार बेहोर्यो । टस हार्दै पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा १२४ रन मात्र बनाउन सक्यो । जवाफी लक्ष्य पछ्याएको किवीज टोलीले भने १८.१ ओभरमा २ विकेट गुमाएर १२५ रन बनाउँदै जित हात पारेको थियो ।

खेलमा ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिएका न्युजिल्याण्डका ट्रेन्ट बोल्ट प्लेयर अफ द म्याच चुनिए । यो जितपछि ५ खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड समूह २ को शिर्ष स्थानमा छ । एक खेल कम खेलेको पाकिस्तानको पनि ८ अंक छ र दोस्रो स्थानमा छ ।

पाकिस्तानले आइतबार नै स्कटल्याण्डसँग खेल्दैछ । त्यो खेल जिते पाकिस्तान समूह २ को विजेता बन्नेछ । स्मरण रहोस, समूह २ बाट न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । भारतले सोमबार नामिबियासँग खेल्दैछ । जुन सुपर १२ राउण्डको अन्तिम खेल हुनेछ । यद्यपि भारतका लागि त्यो खेल अब औपचारिकता मै सिमित निश्चित भएको छ ।

साथै सेमिफाइनलमा सुपर १२ को समूह १ बाट अष्ट्रेलिया र इङल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार पाकिस्तान र स्कटल्याण्डबीचको खेलपश्चात सेमिफाइनल समिकरण पनि पूरा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...