क्रिकेट विश्वकपः सेमिफाइनलमा इङल्याण्ड

काठमाडौं (एजेन्सी) । जोस बटलरले टि–२० क्यारियर कै पहिलो शतक जमाएको खेलमा इङल्याण्डले श्रीलंकालाई २६ रनले हराउँदै जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर १२ को समूह १ मा रहेको इङल्याण्डले लगातार चौथो जित हात पार्ने क्रममा श्रीलंकामाथि शारजहाामा रोमाञ्चक जित हात पारेको हो । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको इङल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रनको योगफल तयार पारेको थियो ।

इङल्याण्डका लागि जोस बटलरले ६७ बलमा नटआउट १०१ रनको शतकीय पारी खेले । कप्तान एवोन मोर्गनले पनि ४० रनको महत्वपूर्ण योगदान दिए ।

जवाफी लक्ष्य पछ्याएको श्रीलंका भने १९ ओभरमा १३७ रन बनाएर अलआउट हुन पुग्यो । श्रीलंकाका लागि वानिन्दु हसरंग डि सिल्वाले सर्वाधिक ३४ रन बनाए भने भानुका राजपाक्षे र कप्तान दासुन सनकाले समान २६–२६ रनको योगदान दिए ।

खेलमा शतकीय पारी खेलेका इङल्याण्डका जोस बटलर प्लेयर अफ द म्याच चुनिए । लगातार चौथो जित हात पारेको इङल्याण्डको समूह १ मा ८ अंक भएको छ । त्यस्तै दक्षिण अफ्रिका र अष्ट्रेलियाको ४–४ अंक छ । इङल्याण्डले आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

त्यस्तै २ अंक जोडेको श्रीलंकाले आफ्नो अन्तिम खेलमा वेस्ट इण्डिजसँग खेल्नेछ । वेस्ट इण्डिजको पनि २ अंक छ भने अंकविहीन बंगलादेश पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...