क्रिकेट विश्वकपः इङल्याण्डसँग निरीह बन्यो अष्ट्रेलिया

काठमाडौं (एजेन्सी) । आइसीसी टि–२० क्रिकेट विश्वकपको सुपर १२ तर्फ समूह १ मा रहेको इङल्याण्डले दावेदार अष्ट्रेलियामाथि ८ विकेटको प्रभावशाली जित हात पारेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जित्दै पहिले फिल्डिङ रोजेको इङल्याण्डले अष्ट्रेलियालाई निर्धारित २० ओभरमा १२५ रन मात्र बनाउन दियो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ४४ रन बनाए ।

इङल्याण्डका लागि प्लेयर अफ द म्याच समेत चुनिएका क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिएका थिए । त्यस्तै क्रिस वोक्स र ताइमल मिल्सले २–२ विकेट हात पारे । आदिल रशिद र लियाम लिभिङस्टोनको नाममा १–१ विकेट रह्यो ।

उता जवाफी लक्ष्य पछ्याएको इङल्याण्डले ११.४ ओभर मात्र खेल्दै २ विकेटको क्षतिमा १२६ रन बनाएर शानदार जित हात पार्यो । इङल्याण्डका लागि ओपनर जोस बटलरले नटआउट ७१ रन बनाए । अर्का ओपनर जेसन रोयको नाममा २२ रन रह्यो ।

लगातार ३ खेलमा ३ जितका साथ ६ अंक जोडेको इङल्याण्ड समूह १ को शिर्ष स्थानमा छ र सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ । त्यस्तै अष्ट्रेलियासँगै दक्षिण अफ्रिकाको ४–४ अंक छ भने श्रीलंका र वेस्ट इण्डिजको २–२ अंक छ । बंगलादेश भने अंकविहीन छ ।


प्रतिक्रिया दिनुहोस

Loading...